काठमाडौं । एनसेल प्रयोगकर्तालाई हिमालयन जाभाले कफीमा छुट दिने भएको छ । एनसेल र हिमालयन जाभा कफीबीचको सहकार्यमा नयाँ वर्ष २०८३ देखि सुरु भएको विशेष अफरअन्तर्गत एनसेल ग्राहकहरूले देशभरका सबै हिमालयन जाभा कफी आउटलेटमा प्रिमियम कफी, पेय पदार्थ र खानेकुरामा विशेष छुट पाउने भएका छन् ।
हालै मात्र एनसेल र हिमालयन जाभा कफीबीच यो साझेदारीका लागि सम्झौता भएको छ । एनसेलको ४९९ रुपैयाँ वा सोभन्दा माथिका योग्य प्याक प्रयोग गर्ने सबै ग्राहकहरूले एक कफ कफी खरिद गर्दा अर्को एक कप निःशुल्क प्राप्त गर्ने छन् । साथै तेस्रो कप कफी खरिदमा उनीहरूले ३० प्रतिशत छुट प्राप्त गर्नेछन् । त्यसैगरी २५ वर्ष वा सोभन्दा कम उमेरका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकहरूले ९९ रुपैयाँ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्दा सबै किसिमका खानेकुरा तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन् । यसबाहेक ९९ रुपैयाँ वा सोभन्दा माथिको प्याक चलाउँदै गरेका वा रेन्टल प्लानमा सक्रिय रहेका सबै एनसेल प्रयोगकर्ताले हिमालयन जाभाका खानेकुरा तथा पेय पदार्थहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार यो अफर उपयोग गर्न निकै सहज छ । ‘कुनै पनि किसिमको दर्ता प्रक्रियाको झन्झट ग्राहकहरूले लिन पर्दैन । मात्र एनसेलको सक्रिय योग्य प्याक वा रेन्टल प्लान भएको हुनुपर्छ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । छुट प्राप्त गर्नका लागि ग्राहकले एनसेल एपमा गएर ‘पार्टनर्ड सर्भीसेस’भित्र रहेको ‘हिमालयन जाभा कफी’ छानेर छुट अफरका लागि आफ्नो व्यक्तिगत योग्यता हेर्न सक्नेछन् । एउटा बिलमा एउटा मात्र छुट हुने र ग्राहकको योग्यताका आधारमा उपलब्ध सबैभन्दा धेरै छुट स्वतः लागू हुने कम्पनीले जनाएको छ ।
यो योजनाको लाभ लिन ग्राहकले अर्डर दिने बेला एनसेल एपको ‘लाइभ’ स्क्रिन हिमालयन जाभाका कर्मचारीहरूलाई देखाउन पर्छ, स्क्रीनसट मान्य हुँदैन । प्याक सक्रिय रहेको अवधिभर यो अफरको फाइदा पटक–पटक लिन सकिन्छ । यो सहकार्यले ग्राहकहरूलाई आफूले चलाउँदै आएको प्लानमा कुनै परिवर्तन नगरी थप सुविधा उपलब्ध गराएको छ ।