काठमाडौँ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच बिहीबार भेट भएको छ । सो भेटमा नेपाल प्रहरीसँग काठमाडौँ महानगरपालिकाले काठमाडौँका सडक र सहरी सुरक्षाका लागि सहकार्य गरेको हो ।
महानगरपालिकाका अनुसार काठमाडौँभित्रका सडक, सहरी सुरक्षा र सहरी व्यवस्थापन थप बलियो बनाउन सहकार्य गर्ने विषयमा छलफल भएको जनाइएको छ ।
सडक सुरक्षा र ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण र उपयोग, अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी व्यवस्थापन, सडक मानवमुक्त बनाउने अभियानलगायत विषयमा महानगरपालिकाले नेपाल प्रहरीसँग सहकार्य गर्न चाहेको कार्यवाहक प्रमुख डङ्गोलले बताइन् ।
महानगरपालिकालाई आवश्यक पर्ने सुरक्षा सहयोग उपलब्ध गराउन आफू तयार रहेको प्रहरी महानिरीक्षक कार्कीले बताए । “उपत्यका प्रहरी कार्यालयमार्फत महानगरपालिकाका काममा समन्वय हुनेछ, यसका लागि हामीले ‘फोकल पर्सन’ तोकेका छौँ,” महानिरीक्षक कार्कीले भने ।