काठमाडौं । नेपाल भारतसँग मात्र प्रशोधित पेट्रोलियम पदार्थ खरिदमा निर्भर छ । तर नेपाललाई पेट्रोलियम पदार्थ बिक्री गर्ने भारत भने एउटा देशसँग मात्र आयातमा निर्भर छैन । भारत विश्वका अन्य देशसँग प्रशोधित तेल खरिद नगरी कच्चा तेल नै खरिद गर्छ । उसले आफ्नै केन्द्रमा प्रशोधन गरेर आफूले खपत गर्छ भने छिमेकीलाई पनि बिक्रीवितरण गर्छ । त्यही प्रशोधित तेल नेपालले खरिद गर्दै आएको छ ।
नेपालको तेल खरिद गरेर ल्याउने र बिक्रीवितरण गर्ने आधिकारिक निकाय सरकारी स्वामित्वको नेपाल आयल निगम (एनओसी) हो । एनओसीले भारतीय आयल कर्पोरेसन (आईओसी)बाट तेल खरिद गरेर ल्याउँछ । एनओसी र आईओसीबीच पेट्रोलियम पदार्थ खरिद र बिक्रीको दीर्घकालीन सम्झौता छ । जति नै असहज अवस्था भए पनि भारतले अहिलेसम्म नेपाललाई उसको देशमा भन्दा महंगो पर्ने गरी पेट्रोलियम पदार्थ बिक्री गरेको छैन । यी दुवै कम्पनी क्रमशः नेपाल र भारतका सरकारी कम्पनी हुन् । यो दुई देश नेपाल र भारतको सरकारबीचको सम्झौता हो । त्यसैले विश्व बजारमा बढ्नासाथ एक्कासि नेपाल आयल निगमले बढी मूल्य तिर्नुपर्ने हुँदैन । एउटा निश्चित प्रतिशत मात्र बढ्छ । आज नै तेल महंगो भए पनि नेपालमा असर देखिन एक दुई साता लाग्छ । तर, पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा बढ्यो, आईओसीले बढाएर पठायो भनेर नेपाल आयल निगमले जनताको दैनिकी नै थला पार्ने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्मा गत वर्ष सम्बोधन गर्दै आयल निगम र सरकारको नियमतमाथि शंका गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेका थिए । उनले सरकारलाई जनताप्रति उत्तरदायी हुनु पर्दैन ? जनतालाई राज्यको महसुस गर्नका लागि सहुलियत दिनु पर्र्दैन ? भन्ने प्रश्न गरेका थिए । यस्तै प्रश्न हालका प्रधानमन्त्री वालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाउँदै जनताप्रति उत्तरदायी बन्नु पर्दैन ? सहुलियत दिनु पर्दैन भनेर प्रश्न गरेका थिए । तर, उत्तर दिने ठाउँमा अहिले लामिछाने र शाह छन्, तर उनीहरू बोल्न चाहँदैनन् वा बोल्न सकिरहेका छैनन् । नयाँ वा पुरानो जुन दल भए पनि सत्तामा रहँदा एउटा र सत्ताबाट हटेपछि अर्को कुरा गर्छन् र जनतालाई भ्रमित पारिरहन्छन् भन्ने अहिलेको मूल्यवृद्धिले पुष्टि गरेको छ ।
भारतमा पेट्रोलियम पदार्थको अचाक्ली मूल्यवृद्धि नहुनुमा उसले एउटा क्षेत्रबाट मात्र तेल आयात गर्दैन । भारतले खाडीका मुलुक र रसियासँग तेल खरिद गर्छ । एकतिर समस्या भएमा अर्कोतिरबाट आयात बढाउँछ । त्यही भएर उसले कच्चा तेल सहज रूपमा पाइरहेको हुन्छ । अन्तर्राष्ट्रिय मूल्यको कारण मात्र उसलाई केही समस्या पर्छ अन्य कुनै कारण छैन । तर, अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि नेपाल सरकार र भारत सरकारबीच सम्झौता भएको कारण तत्काल असर पर्न नपर्ने हो तर नेपालले हप्तामै दुई पटक मूल्यवृद्धि गर्ने गरेको छ, त्यो पनि विगतको सरकारलाई गाली गर्नेहरू अहिले सरकारमा बसेको बेला ।
तर, नेपाल आयल निगमले भने अहिले भारतले मूल्य बढाएर पठाएको भनेर डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन, खाना पकाउने ग्यास मूल्य जनताले थेग्नै नसक्ने गरी बढाएको छ । जुन मूल्यवृद्धि भारतको भन्दा बढी छ ।
इरान युद्ध सुरु भएयता बिहीबार रातिसम्म नेपालमा डिजेल प्रतिलिटर ६६.९ प्रतिशत अर्थात् ९५ रुपैयाँ र पेट्रोलमा ३९.४९ प्रतिशत अर्थात् ६२ रुपैयाँले मूल्यवृद्धि भएको छ ।
नेपालमा बढेको बढ्यै, भारतमा स्थिर
गत फागुन १६ देखि अमेरिका–इजरायलले इरानविरुद्ध बमबारी सुरु गरेका थिए । त्योसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धि सुरु भएको थियो । तर फागुन १७ गते नेपाल आयल निगमले विज्ञप्ति निकाल्दै उपभोक्तालाई राहत दिने उद्देश्यले मूल्य यथावत् राखेको बताएको थियो । निगमका अनुसार त्यतिबेला इन्डियन आयल कर्पोरेसनबाट प्रतिलिटर पेट्रोलमा २.०९ रुपैयाँ, डिजेलमा २.४७ रुपैयाँ, ग्यासमा प्रतिसिलिन्डर १८.५८ रुपैयाँ मूल्य बढेर आएको थियो ।
त्यसअघि निगमले फागुन ३ गते सूचना निकालेर ४ गतेदेखि पेट्रोलमा १ रुपैयाँ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले बढाएको थियो । त्यसअनुसार फागुन ४ देखि पेट्रोल एक सय ५७ रुपैयाँ र डिजेल–मट्टितेलको मूल्य एक सय ४२ रुपैयाँ प्रतिलिटर पुगेको थियो ।
तर चैत १ गते पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि गरिएको थियो । पेट्रोलमा १५ रुपैयाँ र डिजेल–मट्टितेलमा १० रुपैयाँले बढाइएको थियो । योसँगै पेट्रोल प्रतिलिटर एक सय ७२ तथा डिजेल–मट्टितेल एक सय ५२ रुपैयाँ पुगेको थियो । बढाउनुपर्ने मूल्यअनुसार समायोजन गर्दा त्यतिबेला पेट्रोलमा ३१ रुपैयाँ बढ्दा एक सय ८८ र डिजेलमा ५४ रुपैयाँ बढ्दा एक सय ९६ रुपैयाँ कायम गर्नुपर्ने निगमको दाबी थियो ।
त्यसपछि निगमले चैत ११ गते राति पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५/१५ रुपैयाँ बढाएको थियो । त्योसँगै पेट्रोल एक सय ८७ रुपैयाँ र डिजेल–मट्टितेल एक सय ६७ रुपैयाँ पुगेको थियो । यसरी मूल्य बढाएको ७ दिनमै निगमले चैत १९ गते रातिदेखि पुनः तीनवटैमा १५ रुपैयाँका दरले मूल्य बढाएको थियो । योसँगै पेट्रोल दुई सय दुई र डिजेल–मट्टितेल एक सय ८२ रुपैयाँ पुगेको थियो । चैत २४ मा सरकारले पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुटको घोषणा गरेको थियो । त्यसपछि पनि मूल्य घटेन । अन्ततः चैत २७ गते पेट्रोलमा १७ रुपैयाँ र डिजेल–मट्टितेलमा २५ रुपैयाँले मूल्य बढेको थियो । उक्त वृद्धिपछि पेट्रोल दुई सय १९ र डिजेल मट्टितेल दुई सय सात रुपैयाँ प्रतिलिटर पुगेको थियो ।
त्यसपछि बुधबार रातिदेखि (वैशाख २) पुनः डिजेल र मट्टितेलमा ३० रुपैयाँ बढाइएको थियो भने पेट्रोलको यथावत् राखिएको थियो । यसअनुसार अहिले डिजेल मट्टितेल २३७ रुपैयाँ पुगेको छ ।
उता भारतमा इरानमाथि आक्रमण भएको फेब्रुअरी महिनामा पेट्रोल औसतमा ९४ भारुदेखि एक सय सात भारुसम्म सहरअनुसार प्रतिलिटर खुद्रा मूल्य थियो । त्यसैगरी मध्यमार्चसम्म पनि सोही हाराहारीमा मूल्य कायम भएको थियो । अप्रिल १६ अर्थात् बिहीबारसम्म आइपुग्दा भारतमा पेट्रोलको मूल्य प्रवृत्तिमा खासै फेरबदल देखिँदैन । मुख्य सहरहरु मुम्बईमा एक सय तीन भारु, कोलकातामा एक सय पाँच, हैदरावादमा एक सय सात, ब्यांगलोरमा एक सय दुई र चेन्नईमा एक सय भारुमा प्रतिलिटर पेट्रोल मूल्य कायम भएको छ ।
डिजेलको हकमा पनि भारतमा स्थिर मूल्यप्रवृत्ति देखिएको छ । विभिन्न राज्यका आ–आफ्नै कर व्यवस्थाअनुसार मूल्य कायम हुँदा मुम्बईमा अहिले डिजेल प्रतिलिटर ९० भारु, नयाँ दिल्लीमा ८७.६७, चेन्नईमा ९२.४८, कोलकातामा ९२.०२, हैदरावादमा ९५.७० र ब्यांग्लोरमा ९१.०६ प्रतिलिटर मूल्य रहेको छ ।
भारतले कच्च तेल रसिया, साउदी अबर, इराक, दुबई र कुवेतसँग खरिद गर्छ । खाडी मुलुकमा द्वन्द्व हुँदा रसियासँग र रसियामा समस्या पर्दा भारतको कच्चा तेलको भार खाडी मुलुकमा पर्छ ।
भारतले सन् २०२५ मा करिब दुई सय ६३ मिलियन टन कच्चा तेल आयात गरेको भारतीय सञ्चार माध्यम टाइम्पस आफ इन्डियाले समाचार लेखेको छ । त्यसमा रसियाको हिस्सा झण्डै ३३ प्रतिशत थियो भने सन् २०२४ मा रसियाबाट भारतले खरिद गर्ने कुल कच्चा तेलको हिस्सा ३६ प्रतिशतसम्म थियो ।
समग्रमा हेर्दा भारतले मध्यपूर्वका साउदी, इराक दुबई, कुवेतलगायतका देशबाट नियमित रूपमा आफूलाई चाहिने ५० प्रतिशत पेट्रोलियम पद्धार्थ (तेल) आयात गर्ने गरेको देखिन्छ । सन् २०२६ लागेपछि युद्धको कारण अहिलेसम्म भारतले आफूलाई चाहिने तेलको करिब ४० प्रतिशत खाडीका मुलुकबाटै ल्याउन सकेको छ भने अहिले रसियासँग बढी खरिद गरिरहेको छ ।
नेपाल आयल निगमले प्रशोधित तेलको रुपमा भारतबाट डिजेल, पेट्रोल, मट्टितेल, एलपी ग्यास, हवाई इन्धन, बिटुमिन खरिद गरेर ल्याउने गरेको छ । भारतले रसिया र खाडीका विभिन्न देशबाट कच्चा तेल खरिद गरेर ल्याएर प्रशोधन गरी नाफासहित जोडेर नेपाललगायतका छिमेकीलाई बिक्री वितरण गर्छ । त्यही भएर अहिले नेपालले प्रयोग गरिरहेको पेट्रोलियम पद्धार्थ पूर्ण रूपमा रसियाको पनि होइन र खाडी मुलुकको पनि होइन ।
भारतको भारतीय आयल कर्पोरेशन, भारत पेट्रोलियम र रिलायन्स इन्ड्रस्ट्रिजबाट प्रशोधित तेल आईओसी (भारतीय आयल कर्पोरेशन)बाट नेपाल आयल निगमले खरिद गरेर ल्याउँछ । यसअघि प्रत्येक १ र १५ तारिकमा आईओसीबाट आएको मूल्य समायोजन गर्ने गरेको नेपाल आयल निगमले अहिले भने जुनसुकै दिन मूल्य समायोजनको नाममा डिजेल प्रतिलिटर दुई सय ३७ रुपैयाँ पु¥याएको छ । जुन पेट्रोलभन्दा पनि महंगो छ ।
नेपालसँग कच्चा तेल खरिद गरेर ल्याएर प्रशोधन गर्ने ठाउँ छैन भने कच्चा तेल आयात गरेर ल्याउने सामुन्द्रिक बाटो नै छैन । कच्चा तेल एकै पटक ठूलो मात्रामा खरिद गर्नुपर्ने भएकाले नेपालको खरिद गर्ने ठूलो आर्थिक हैसियत पनि छैन ।
भारतले अन्र्तर्राष्ट्रिय बजारबाट सामान्यतया ७० देखि ९० डलरसम्ममा प्रतिब्यारेल (एक सय ५९ लिटर) तेल खरिद गर्छ । प्रशोधन भएपछि पेट्रोल एक सय रुपैयाँसम्म र डिजेल ९५ रुपैयाँसम्म पर्छ । सामान्य अवस्थामा भारतले नेपाललाई प्रति ब्यारेल डिजेल ९० देखि १ सय पाँच रुपैयाँ र पेट्रोल ९५ देखि एक सय १० रुपैयाँसम्म बिक्री गर्छ । अहिले असामान्य अवस्थामा डब्बलभन्दा बढी मूल्यवृद्धि भएको छ तर नेपालीहरू अन्तर्राष्ट्रिय कारण भन्दै मौन बसेका छन् । यसले सरकारलाई मूल्यवृद्धि गराउन सहयोग पुर्याएको छ । बढेको मूल्य जनताबाट असुल गर्न पाएमा सरकारलाई राज्यको कोष बचाउन सहिजो हुन्छ र त्यो कोषको रकम पछि राजनीति कार्यक्रम घोषणा गरेर खन्याउन सजिलो हुन्छ ।