काठमाडौँ । प्रतिनिधिसभा सदस्यहरूले सङ्घीय संसद्का १२ विषयगत समितिको सभापतिमा मनोनयन दर्ता गराएका छन् । समिति सभापतिको निर्वाचन कार्यक्रमअनुसार बिहीबार प्रतिनिधिसभाका १० विषयगत समिति र दुई संयुक्त समितिको सभापतिमा सांसदहरूले मनोनयन दर्ता गरेका हुन् ।
प्रतिनिधिसभाको ११ वटा समिति सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसदले उम्मेदवारी दिएका छन् । यस्तै नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले एक÷एक समितिको सभापतिको लागि उम्मेदवारी दिएको छ । रास्वपाबाट प्रतिनिधिसभाको अर्थ समितिको सभापतिमा डा. कृष्णहरि बुढाथोकी, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रहवर अन्सारी, कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकालले उम्मेदवारी दिएका छन् । यस्तै महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा अशोक चौधरी, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा. ओजस्वी शेरचनले उम्मेदवारी दिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सासद भरतबहादुर खड्काको मनोनयन दर्ता गरेका छन् । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा उम्मेदवारी दिएका छन् । यस्तै सङ्घीय संसद्को संयुक्त समितिका रूपमा रहेको संसदीय सुनुवाइ समितिको सभापतिमा रास्वपाका बोधनारायण श्रेष्ठले उम्मेदवारी दिएका छन् भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति सभापतिमा रास्वपाका गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीका सांसद मदनकुमारी शाह (गरिमा) को उम्मेदवारी दर्ता भएको छ ।
सचिवालयका अनुसार प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीय संसद्को संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा बाहेक अन्य समिति सभापतिमा एकल उम्मेदवारी परेको छ । शुक्रबार अपराह्न १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा सभापतिको मनोनयसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।