काठमाडौं । एपोलो हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ)मा लगानीकर्ताहरूको उच्च आकर्षण देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा मागभन्दा झन्डै ४२ गुणा बढी आवेदन परेको हो ।
निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका अनुसार सात लाख ८० हजार दुई सय कित्ता सेयरका लागि २८ लाख ७५ हजार तीन सय ७२ जना आवेदकबाट तीन करोड २७ लाख ३२ हजार नौ सय ३० कित्ता सेयरका लागि आवेदन परेको छ । यो कुल निष्कासित कित्ताको तुलनामा ४१ दशमलव ९५ गुणाले बढी हो । यसमार्फत करिब तीन अर्ब २७ करोड रुपैयाँ बराबरको आवेदन संकलन भएको छ । माग अत्यधिक भएकाले धितोपत्र बाँडफाँट निर्देशिका अनुसार साधारण सेयर गोलाप्रथाबाट वितरण गरिने छ । जसअनुसार ७८ हजार २० जना भाग्यमानी आवेदकले मात्र १० कित्ताका दरले सेयर पाउनेछन् भने झन्डै २८ लाख आवेदक भने सेयरबाट वञ्चित हुनेछन् ।