काठमाडौं । मेची इन्डस्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन (आईपीओ) गर्ने तयारी अघि बढाएको छ । कम्पनीले प्रति सेयर अंकित मूल्य सय रुपैयाँ दरका १५ लाख कित्ता साधारण सेयर निष्कासनका लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई संस्थागत परामर्शदाता तथा निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको हो ।
यस सम्बन्धमा बुधबार आयोजित एक कार्यक्रममा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार भण्डारी र मेची इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष पवन घिमिरेबीच द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।
नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग नेपाल एसबीआई बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानी व्यवस्थापन, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धन, धितोपत्र खरिद प्रत्याभूति, हितग्राही खाता सञ्चालन, संस्थागत परामर्श तथा सेयर रजिस्ट्रारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ । झापाको दमकस्थित ताराबारी क्षेत्रमा अवस्थित मेची इन्डस्ट्रिज लिमिटेड स्वदेशी कच्चा पदार्थ—बालुवा, सिमेन्ट र चुनमा आधारित अटोक्लेभ्ड एरेटेड कङ्क्रिट ब्लक उत्पादन गर्ने उद्योग हो । कम्पनीको उत्पादन स्थल महेन्द्र राजमार्गबाट करिब २०० मिटरभित्र आफ्नै स्वामित्वको जग्गामा रहेको छ ।
कम्पनीले उत्पादन गर्ने ब्लक हलुका, वातावरणमैत्री तथा परम्परागत इँटाको विकल्पका रूपमा प्रयोग हुने विशेषतायुक्त सामग्री हो । उच्च चापयुक्त बाफ प्रविधिबाट तयार हुने यी ब्लक ताप तथा आगो प्रतिरोधीसमेत छन् । कम्पनीको वार्षिक उत्पादन क्षमता हाल २१ लाख ६० हजार गोटा रहेको छ ।
यसका अतिरिक्त कम्पनीले ब्लक जडानमा प्रयोग हुने एड्हेसिभ, रेडिमिक्स प्लास्टर तथा वालपुट्टी उत्पादनका लागि आवश्यक प्लान्ट तथा मेसिनरी जडान कार्यलाई तीव्रता दिएको जनाएको छ । यी उत्पादनहरू पनि निकट भविष्यमा बजारमा ल्याउने कम्पनीको लक्ष्य रहेको छ ।