काठमाडौं । टिकटकले २०२५ को चौथो त्रैमासिमक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ । कम्पनीले २०२५ अक्टोबरदेखि डिसेम्बरसम्मको तथ्यांक समेटिएको प्रतिवेदन सार्वजानिक गरेको हो ।
प्रतिवेदनमा कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने कन्टेन्ट पहिचान गरी हटाउन टिकटकले अपनाएका सक्रिय कदमहरूको विवरण प्रस्तुत गरेको हो । यस अवधिमा नेपालमा मात्रै टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघनका कारण कुल १९ लाख ३२ हजार पाँच सय ७५ भिडियो हटाएको छ । अक्टोबरदेखि डिसेम्बरसम्म सक्रिय रूपमा कन्टेन्ट हटाउने दर ९९ दशमलब ९ प्रतिशत कायम रह्यो, जसमा ९८ दशमलब ४ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको थियो । यस अवधिमा टिकटकले कुल १७ करोड ५३ लाख दुई हजार ८५ भिडियो हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड गरिएका कुल कन्टेन्टको करिब शून्य दशमलब ५ प्रतिशत हो । हटाइएका भिडियोमध्ये १५ करोड २५ लाख ८० हजार नौ सय ३३ भिडियो अटोमेटेड डिटेक्सन प्रविधिमार्फत पत्ता लगाई हटाइएको थियो भने ८३ लाख ६० हजार सात सय ८० भिडियो रिभ्युपछि पुनस्र्थापना गरिएको थियो । सक्रिय हटाउने दर ९९ दशमलब १ प्रतिशत रहेकोमा ९३ दशमलब ४ प्रतिशत फ्ल्याग गरिएका कन्टेन्ट पोस्ट भएको २४ घण्टाभित्र हटाइएको थियो । यस अवधिमा टिकटकले १४ करोड ७७ लाख १६ हजार पाँच सय १८ नक्कली एकाउन्टहरू हटाएको छ । साथै, १३ वर्षभन्दा कम उमेरका हुन सक्ने आशंका गरिएका थप २ करोड ३८ लाख ७५ हजार आठ सय ७९ खाताहरू पनि हटाइएको थियो ।
यस त्रैमासिक अवधिमा, एकपटक पनि नहेरिएको अवस्थामा हटाइने भिडियोको संख्यामा कमी आएको देखिएको कम्पनीले जनाएको छ । साथै, कमेन्ट हटाउने दरमा पनि उल्लेखनीय कमी आएको छ, किनकि टिकटकले अब केही अनुपयुक्त वा आपत्तिजनक कमेन्टहरूलाई सिधै हटाउनेभन्दा तिनीहरूको पहुँच घटाउने रणनीति अपनाएको छ । यसैबीच, नक्कली लाइक र नक्कली फलोअर्स हटाउने कार्यमा वृद्धि भएको छ, जसले प्लेटफर्मको वास्तविकता र विश्वसनीयता कायम राख्ने प्रयासलाई बलियो बनाएको कम्पनीको दाबी छ ।
प्रतिवेदनअनुसार, हटाइएका भिडियोमध्ये २१ दशमलव २ प्रतिशतमा संवेदनशील वा वयस्क विषयवस्तु समावेश थिए, जुन टिकटकका कन्टेन्ट नीतिसँग मेल खाँदैनन् । थप ९ दशमलब १ प्रतिशत भिडियोले सुरक्षा र सभ्यतासम्बन्धी मापदण्ड उल्लङ्घन गरेका थिए भने १ दशमलब २ प्रतिशत भिडियोले गोपनीयता र सुरक्षा निर्देशिका उल्लंघन गरेका थिए । यसबाहेक, १ दशमलब ६ प्रतिशत भिडियो भ्रामक सूचनासँग सम्बन्धित थिए भने १ दशमलब ८ प्रतिशत भिडियो सम्पादन गरिएको वा एआई–निर्मित सामग्रीका रूपमा फ्ल्याग गरिएको थियो । कम्युनिटी गाइडलाइन्स कार्यान्वयन प्रतिवेदनको नियमित प्रकाशनले कन्टेन्ट तथा खाता सम्बन्धी कारबाहीको परिमाण र प्रकृतिबारे स्पष्ट जानकारी प्रदान गने कम्पनीको भनाइ छ ।