काठमाडौं, नेपाली संगीत क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै पहिचान बनाउँदै आएका बहुप्रतिभाशाली सर्जक गोविन्द तिवारी ‘ध्रुव’ १६ वर्षपछि पुनः सांगीतिक यात्रामा फर्किएका छन् । उनले आफ्नो नयाँ गीत “माया (आँशु) पाएको छु” सार्वजनिक गर्दै दर्शक तथा श्रोतामाझ भावनात्मक कथा प्रस्तुत गरेका छन् । ‘ए गाँठ्ठे’, ‘ए गाउँलेकी छोरी’, ‘लाग्यौ नि दिल चोरी’, ‘यी केटीका दाह्री जुंगा आउन बाँकी छ’ र ‘छोरीको तकदिर’ जस्ता चर्चित गीतहरूका सर्जक तिवारी लामो अन्तरालपछि पुनः सक्रिय भएका हुन् । गायक, गीतकार, संगीतकार, एरेन्जरका साथै उनी साउण्ड तथा भाइब्रेसनल हीलर (साउण्ड थेरापी टिचर) का रूपमा समेत परिचित छन् । नयाँ गीत “माया (आँशु) पाएको छु” एउटा गहिरो कथा बोकेको सांगीतिक प्रस्तुति हो, जसमा प्रेम, पीडा र धोका जस्ता भावनाहरूलाई सशक्त रूपमा अभिव्यक्त गरिएको छ । गीतका शब्दहरूले प्रेममा परेका दुई पात्रको अन्तरद्वन्द्व र भावनात्मक पीडालाई चित्रण गर्छन् । गीतमा केटाको स्वरमा पीडाको गहिराइ यसरी व्यक्त गरिएको छ । “हे चारै तिर अँध्यारो देख्दै छु, पापीनीको नाम अझै लेख्दै छु, म पागल भएको छु, ए मैले मायाँको बदलामा आँशु पाएको छु।” त्यसैगरी केटीको पक्षबाट पनि त्यही पीडा झल्किन्छ — “हे सत्य कसम चोखो मन दिएको, अमृत दिंदा उल्टै बिष पिएको, म पागल भाकी छु, ए मैले मायाँको बदलामा आँशु पाएकी छु।” यो गीत सुरुदेखि अन्त्यसम्म ध्यान दिएर सुन्नुपर्ने खालको रहेको सर्जकले बताएका छन् । उनले दर्शक तथा श्रोतासँग गीतप्रति माया देखाउँदै लाइक, कमेन्ट, सेयर र सब्सक्राइबमार्फत साथ दिन आग्रह गरेका छन् । तिवारीको यो पुनरागमनले नेपाली संगीत क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ भने “माया (आँशु) पाएको छु” गीतले दर्शकको मन छुने विश्वास लिइएको छ । भिडियो लिंक https://www.youtube.com/watch?v=UuINFJsKfhU