काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) सूचीकृत भएका कम्पनीहरूको सेयर मूल्य अबदेखि एकैदिन १५ प्रतिशतसम्म घट्ने वा बढ्न सक्ने भएको छ । नेप्सेले कारोबार सञ्चालक विनियमावली संशोधन गरेर यही वैशाख छ गते अर्थात् आज सोमबारदेखि यस्तो व्यवस्था कार्यान्वयमा ल्याउन लागेको हो ।
यो व्यवस्था कार्यान्वयनमा आउनुअघि नेप्सेमा सूचीकृत कम्पनीहरूको सेयर मूल्य एक दिनमा अधिकतम १० प्रतिशतसम्म बढ्न वा घट्न सक्ने व्यवस्था रहेको थियो । नेप्सेले सोही व्यवस्थालाई संशोधन गरी यसअघि कायम रहेको १० प्रतिशतको अधिकतम सीमालाई बढाएर १५ प्रतिशत पुर्याएको हो ।
नेप्सेका अनुसार कारोबार सञ्चालन विनियमावली, २०८२ को चौथो संशोधित विनियमावलीअनुसार नेप्सेले निर्धारण गरेको कारोबार समय अघि वा पछि ग्राहकले प्रणाली (टीएमएस)मा आदेश दिएमा त्यस्तो आदेशलाई समय प्राथमिकताका क्रममा राख्ने व्यवस्था गरिएको छ । सोअनुसार कारोबार समय सुरु हुनासाथ क्रमशः नेप्सेको प्रणालीमा प्रविष्टि हुनेछ । आदेश प्रविष्टि गर्दा पछिल्लो कारोबार दिनको अन्तिम मूल्यको १५ प्रतिशतभन्दा घटी वा बढी नहुने गरी मात्र प्रविष्टि गर्नुपर्ने व्यवस्था नेप्सेले गरेको छ ।
संशोधित व्यवस्थाअनुसार प्रारम्भिक कारोबार सत्र (१० : ३० बजेदेखि १० : ४५ बजेसम्म) अर्डर प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको पाँच प्रतिशत घटी वा बढी मूल्य सीमाभित्र रहेर गर्नुपर्नेछ । यस सत्रमा कारोबार भएका आदेशलाई नियमित सत्रमा प्रविष्ट गरी कारोबार हुने व्यवस्था गर्नुपर्नेछ । नियमित कारोबार सत्रमा भने मूल्यको तीन प्रतिशत घटी वा बढीको सीमाभित्र रही आदेश प्रविष्टि गर्नुपर्ने व्यवस्था रहेको छ । यसअघिसम्म यो व्यवस्थामा अधिकतम दुई प्रतिशतको सीमा रहेको थियो । संशोधित व्यवस्थाअनुसार नियमित कारोबार सुरु हुँदा कायम रहेको नेप्से परिसूचकको अंक कारोबार सुरु भएको दुई घण्टाभित्र पाँच प्रतिशतले बढेमा वा घटेमा अब पहिलो सर्किट ब्रेक लाग्नेछ । त्यसपछि १५ मिनेटका लागि कारोबार स्थगित हुनेछ । १५ मिनेटपछि खुलेको कारोबारमा फेरि नेप्से परिसूचक आठ प्रतिशतले बढेमा वा घटेमा सो दिनको लागि कारोबार बन्द हुनेछ । अब यही दुई सर्किट ब्रेक मात्रै लाग्नेछ ।
यसअघि भने नेप्सेमा अधिकतम तीन पटकसम्म सर्किट ब्रेक लाग्ने व्यवस्था रहेको थियो । उक्त व्यवस्थाअनुसार पहिलो एक घण्टाभित्र चार प्रतिशत, त्यसपछि खुलेको कारोबारमा पाँच प्रतिशत र अन्तिममा छ प्रतिशतसम्म नेप्से परिसूचक बढेमा वा घटेमा सर्किट ब्रेक लाग्ने व्यवस्था रहेको थियो ।
नेप्सेमा हाल नियमित कारोबारका लागि दुई सय ८६ वटा कम्पनीहरू सूचीकृत रहेका छन् । सूचीकृत कम्पनीहरूमध्ये एक सय ३३ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । यीबाहेक ९७ वटा जलविद्युत् कम्पनी, २७ वटा उत्पादन तथा प्रशोधन उद्योग, आठवटा होटल, सातवटा लगानी कम्पनी, चारवटा व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । नेप्सेका अनुसार यसअघि अर्थात् २०८१ फागुनमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय ६८ रहेको थियो । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२ दशमलव दुई प्रतिशत रहेको छ ।
त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५ दशमलव नौं प्रतिशत, लगानी कम्पनीको हिस्सा सात दशमलव चार प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा सात दशमलव दुई प्रतिशत, व्यापारिक संस्थाको हिस्सा चार दशमलव चार प्रतिशत, होटेलको हिस्सा तीन दशमलव एक प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा नौ दशमलव आठ प्रतिशत रहेको नेप्सेले जानकारी दिएको छ ।