पर्वत । पर्वतको जलजला गाउँपालिका–४ खोलाखेतमा स्थानीयले सामूहिक रूपमा लगानी गरेर बायो कम्पोष्ट मल उद्योग सञ्चालनमा ल्याएका छन् । खोलाखेत गाउँका नौजना स्थानीयले सामूहिक रूपमा १५ लाख रुपैयाँ लगानी गरेर स्थापना गरेको उद्योगबाट कम्पोस्ट मल तयार गर्न सुरु भएको हो ।
गाउँदेखि माथि रहेको जङ्गल छेउमा कम्पोस्ट मलका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण गरी उद्योग सञ्चालनमा ल्याइएको बायो कम्पोस्ट मल उत्पादन समितिका अध्यक्ष ढकबहादुर जिसीले जानकारी दिए । उनका अनसार उद्योगले गत बिहीबारदेखि परीक्षण उत्पादन सुरु गरेको हो । उत्पादित मलको सराङकोट दाजुभाइ एग्रो फर्म प्रालिमार्फत प्याकेजिङ र बिक्री वितरणको व्यवस्था मिलाइएको उनले बताए । जैविक बायो कम्पोस्ट मलमा पर्याप्तमात्रामा नाइट्रोजन, फस्फोरस, कार्बोन, पोटासियम र बिरुवाको वृद्धिका लागि आवश्यक सबै पोषक तत्व पाइने समितिका अध्यक्ष जिसीले बताए । उनले भने, ‘हामीले मलको ल्याब परीक्षण गरी उत्पादनको स्वीकृति पाएका छौँ । परीक्षण उत्पादनपछि व्यावसायिक उत्पादन सुरु गर्दछौँ ।’
उत्पादन सुरु भएसँगै मुस्ताङबाट करिब ३० टन मलको माग आएको उनले बताए । मलको प्रतिकेजी ४० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । स्याउ र सुन्तलाखेतीका लागि कम्पोस्ट मल धेरै उपयोगी हुने उनको भनाइ छ । जैविकखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले उत्पादन गरिएको उक्त मल शतप्रतिशत प्राकृतिक रहेको उत्पादकले जानकारी दिएका छन् । कृषि उत्पादन वृद्धि माटोको उर्वराशक्ति सुधार तथा वातावरणमैत्री खेती प्रणालीलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित बायो कम्पोस्ट मल उत्पादन थालिएको स्थानीयवासी नरबहादुर कार्कीले जानकारी दिए । जैविक कम्पोस्ट मल विभिन्न जैविक पदार्थ जस्तै घाँस, पात, गोबर, कृषि अवशेष लगायतबाट तयार पारिएको हो । यस मलको प्रयोगले माटोको गुणस्तर सुधार गर्ने, बिरुवाको वृद्धि राम्रो बनाउने तथा रासायनिक मलको प्रयोग घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रशोधन गरेर तयार पारिएको मललाई दुई केजीका दरले प्लाष्टिक प्याकेटमा प्याकिङ गरेर बजारमा पुर्याइने उत्पादकले जनाएका छन् । उक्त मल फलफूल, तरकारी, अन्नबाली तथा बगैँचामा प्रयोग गर्न उपयोगी हुने अपेक्षा गरिएको छ ।
जैविक मल प्रयोगले उत्पादन लागत घट्ने, माटोको दीर्घकालीन उर्वराशक्ति कायम रहने र वातावरणीय प्रभाव कम हुने उत्पादकको भनाइ छ । साथै स्थानीयस्तरमै उत्पादन भएको मल प्रयोग गर्न कृषकलाई आग्रह गरिएको बायो कम्पोस्ट मल उत्पादन समितिका अध्यक्ष जिसीले बताए । स्थानीय कृषकले पनि स्थानीयस्तरमै उत्पादन भएको जैविक मल उपलब्ध भएपछि खेती गर्न सहज हुने अपेक्षा गरेका छन् ।