काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र राष्ट्रिय आविष्कार केन्द्र, काठमाडौंबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रतिष्ठानले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुसँग सहकार्य गर्दै स्वास्थ्य सेवा, शिक्षा तथा अनुसन्धानमा गुणात्मक वृद्धि गर्ने दीर्घकालिन नीतिअनुरुप आविष्कार केन्द्रसँग सम्झौता गरेको हो ।
सम्झौतामा प्रतिष्ठानका तर्फबाट अस्पताल निर्देशक डा. जगत नारायण प्रसाद तथा राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महाप्रबन्धक सञ्जय झाले हस्ताक्षर गरेका छन् । समझदारीअनुसार आविष्कार केन्द्रले प्रतिष्ठानमा प्रयोग हुने गरेका सम्पुर्ण बायोमेडिकल उपकरणहरुको सुपरिवेक्षण गर्नुका साथै दैनिक आधारभूत मर्मत, केबल, सेन्सर तथा एसेसरिजहरुको मर्मत वा सो को प्रतिस्थापन, मेकानिकल मर्मत, इलेक्ट्रोनिक पार्टपुर्जा मर्मत तथा प्रतिस्थापन, पावर सप्लाई मर्मत आदिजस्ता कार्यहरु गर्नेछ । आविष्कार केन्द्रसँगको सहकार्यले प्रतिष्ठानमा उपकरणहरु बिग्रिएर मर्मत गर्न बाह्य विशेषज्ञ पर्खनु पर्ने बाध्यता र सो का कारण सेवा प्रवाहमा हुने ढिलाइको अन्त्य हुने जनाइएको छ ।