काठमाडौं । हिमालयन रियल्टर्सले ‘रियल इस्टेट ब्रोकर’ र भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट राष्ट्रव्यापी ‘भू–सेवा’ सञ्चालनको पूर्ण इजाजतपत्र प्राप्त गरेको छ ।
विगतमा प्रशासनिक जटिलता र प्रत्येक मालपोत कार्यालयबाट छुट्टाछुट्टै अनुमति लिनुपर्ने झन्झटका कारण एकीकृत सेवा प्रवाहमा केही अवरोध सिर्जना भए पनि विभागले उपलब्ध गराएको यो राष्ट्रव्यापी अनुमतिसँगै अब घरजग्गा कारोबार गर्न सहजीकरण भएको छ ।
कम्पनीले यी अनुमतिहरूको माध्यमबाट आफ्ना ग्राहकहरूलाई अत्याधुनिक डिजिटल प्रणालीमार्फत एकीकृत र एकद्वार सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । वर्तमान कानुनी व्यवस्थाअनुसार, सरकारले हालका लागि यो सेवा महानगरपालिका र उप–महानगरपालिका क्षेत्रभित्रका तीनकरोड रुपैयाँभन्दा माथिका संस्थागत कारोबारहरूमा मात्र सीमित गरेको छ । यद्यपि, हिमालयन रियल्टर्सले आगामी दिनमा यसको क्षेत्राधिकार विस्तार गरी नगरपालिका क्षेत्रहरू, तीन करोडभन्दा कमका कारोबारहरू र व्यक्तिगत खरिद–बिक्रीलाई समेत यसै प्रणालीमा समेटिने विश्वास लिएको छ ।