तेहरान । इरानले शनिबार ‘स्ट्रेट अफ हर्मुज’ पार गर्ने क्रममा इन्धन बोकेका व्यावसायिक जहाजहरूमा आक्रमण भएको साथै थप आक्रमणको चेतावनीको सामना गर्नुपरेको सुरक्षा अनुगमनकर्ताहरूले बताएका छन् ।
इरानले मध्यपूर्व युद्धमा युद्धविरामको क्रममा जलमार्गलाई व्यापारिक यातायातका लागि पुनः खोल्ने आफ्नो प्रतिज्ञालाई शुक्रबार उल्ट्याउँदै अनुमतिविना यहाँबाट कुनै पनि आवागमनमा रोक लगाइएको घोषणा गरेको थियो । उक्त मार्ग मध्यपूर्वका लागि र त्यहाँबाट अन्य देश जाने सामानको ढुवानीको लागि एक महत्वपूर्ण मार्ग हो ।
बेलायतको एक समुद्री सुरक्षा एजेन्सीले भनेको छ, ‘इरानको रिभोलुसनरी गाड्र्स (आईआरजीसी)ले एक ट्यांकरमा गोली चलाएको छ ।’ सामुद्रिक सुरक्षा निगरानीका लागि प्रयोग हुने संूथा ‘भ्यानगार्ड टेक’ले शुक्रबार तेहरानले केही समयको राहत घोषणा गरेपछि खाडीबाट भागिरहेका खाली यात्रुबाहक जहाजलाई ‘आक्रमण गर्ने’ चेतावनी दिएको छ ।
यद्यपि, केही तेल र ग्याँस ट्यांकरहरूले शनिबार बिहानै स्ट्रेट पार गरेका निगरानी समूहका तथ्यांकले देखाएको छ । ‘यूके मेरिटाइम ट्रेड अपरेसन सेन्टर (यूकेएमटीओ)’ ले एक अनलाइन विज्ञप्तिमा भनेको छ, “ओमानको उत्तरपूर्वी जलमार्गमा ट्यांकरमा ‘गनबोट’ हरूले गोली चलाएका छन् तर जहाज र चालक दल सुरक्षित रहेका छन्।” भ्यानगार्डले ट्यांकरलाई भारतको ध्वजावाहक ट्यांकर सनमार हेराल्डको रूपमा पहिचान गरेको छ ।
यसले क्याप्टेनलाई उद्धृत गर्दै भन्यो, “आईआरजीसीका दुई गस्ती डुङ्गाहरू रेडियो सम्पर्क बिना नै नजिक आए र त्यसपछि ‘गोली चलेको’ थियो, आक्रमणबाट जहाजको झ्यालहरूमा क्षति पुगेको थियो ।”
इरानले हामीलाई सौदाबाजी गर्न सक्दैन : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानलाई स्ट्रेट अफ हर्मुजको भविष्यमा सौदाबाजी (ब्ल्याकमेल) नगर्न चेतावनी दिएका छन् ।
“तपाईंलाई थाहा छ, उनीहरूले वर्षौंदेखि गरेजस्तै हर्मुज घाँटी फेरि बन्द गर्न चाहन्थे । हामी उनीहरूसँग वार्ता गरिरहेका छौँ। उनीहरूले हामीलाई ‘ब्ल्याकमेल’ गर्न सक्दैनन्,” ट्रम्पले ह्वाइट हाउसको एक कार्यक्रममा भने । राष्ट्रपति ट्रम्पले इरानका बारेमा केही जानकारी प्राप्त हुने बताउँदै भने, ‘हामी कडा अडान लिइरहेका छौँ ।’
यसैबीच, इरानको सेनाले शनिबार विश्वको कच्चा र तरलीकृत प्राकृतिक ग्यासको पाँच भागको एक भाग पार हुँदै जाने जलमार्ग हर्मुज घाँटी फेरि एकपटक बन्द गरिएको घोषणा गरेको एएफपीले जनाएको छ ।