काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी व्यवस्थापन प्रणाली तथा ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै आईएसओ ९००१ः२०१५ प्रमाणिकरण प्राप्त गरेको छ । यो प्रमाणिकरण युनाइटेड रजिस्टर्ड अफ सिस्टम तथा यूकेएस म्यानेजमेन्ट सिस्टममार्फत प्रदान गरिएको कम्पनीले जानकारी दिएको छ ।
यो अन्तर्राष्ट्रिय स्तरको गुणस्तर व्यवस्थापन प्रणाली प्रमाणिकरणले कम्पनीले आफ्ना सेवा, सञ्चालन प्रक्रिया तथा व्यवस्थापन प्रणालीलाई विश्वस्तरीय मापदण्ड अनुरूप सञ्चालन गरिरहेको पुष्टि गरेको छ ।
कम्पनीका अनुसार, यस उपलब्धिले कार्यप्रणालीमा पारदर्शिता, दक्षता तथा निरन्तर सुधारको संस्कृतिलाई संस्थागत बनाउँदै ग्राहकहरूलाई अझ भरपर्दो, छिटो र गुणस्तरीय सेवा प्रदान गर्ने आधार मजबुत बनाएको छ । विशेषगरी बीमा दाबी भुक्तानी, ग्राहक सेवा प्रवाह तथा आन्तरिक व्यवस्थापन प्रणालीमा अनुशासन र एकरूपता कायम गर्न यो प्रमाणिकरणले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । साथै, यसले कम्पनीको सेवा गुणस्तर र स्थिरतालाई थप सुदृढ बनाउँदै ग्राहक सन्तुष्टि र विश्वास अभिवृद्धि गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ । आन्तरिक प्रक्रिया अझ प्रभावकारी, व्यवस्थित र जवाफदेही बन्ने तथा नियामक निकायहरूको मापदण्डसँग थप सुसंगतता कायम हुने कम्पनीको भनाइ छ ।
कम्पनीले यो उपलब्धिलाई केवल प्रमाणपत्रमा सीमित नराखी ग्राहकको विश्वास, उत्तरदायित्व तथा दीर्घकालीन सेवा उत्कृष्टताप्रतिको प्रतिबद्धताको रूपमा लिएको जनाएको छ । आगामी दिनहरूमा पनि सेवा परिष्कृत गर्दै ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखी अघि बढ्ने कम्पनीले स्पष्ट पारेको छ ।