काठमाडौं , पछिल्ला दिनमा आफ्नो नाम जोडेर फैलाइएका विभिन्न आरोपप्रति सुदन गुरुङले स्पष्टिकरण दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले “२५ लाखको सेयर लुकाएको” भन्ने आरोपलाई भ्रामक भन्दै तथ्यका आधारमा आफ्नो धारणा सार्वजनिक गरेका हुन्। गुरुङले आफूले धितोपत्र बजारमा कारोबार हुने सेयरतर्फ २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै खुलाएको दाबी गरेका छन्। उनका अनुसार स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही समूहभित्र समावेश गरिएको हो, जसलाई लुकाइएको नभई वर्गीकरणको विषयका रूपमा बुझ्नुपर्ने उनले बताएका छन्। “लुकाउने मान्छेले २ करोडभन्दा बढी सम्पत्ति खुलाउँदैन,” उनले उल्लेख गरेका छन्। मन्त्री हुनुअघि सेयर खरिद गरिएको विषयमा उठेको प्रश्नप्रति उनले सेयरमा लगानी गर्नु कुनै अपराध नभएको बताएका छन्। सबै कारोबार बैंकिङ प्रणालीमार्फत भएको र त्यसको स्पष्ट अभिलेख उपलब्ध हुने उनले स्पष्ट पारे। साथै, लगानीका लागि प्रयोग गरिएको रकम कर्जा (ऋण) मार्फत जुटाइएको र त्यससम्बन्धी तमसुक २०८०/०५/२९ मा नै तयार भएको उनको भनाइ छ। “पैसा कहाँबाट आयो भन्ने कुरा अनुमान होइन, बैंक र कागजले प्रमाणित गर्ने विषय हो,” गुरुङले भनेका छन्।विवादित व्यक्तिसँग साझेदारी गरिएको भन्ने आरोपप्रति पनि उनले आपत्ति जनाएका छन्। एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरधनी हुने भएकाले सेयर किन्नु सबैसँग साझेदारी गर्नु नभएको उनको तर्क छ। “त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मको लगानी छ, के ती सबैलाई दोषी भन्न मिल्छ?” उनले प्रश्न गरेका छन्। “Conflict of interest” सम्बन्धी आरोपबारे उनले छानबिनको जिम्मेवारी गृह मन्त्रालयको नभई अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धिकरण विभागको रहेको र सोही निकायले प्रक्रिया अघि बढाइरहेको जानकारी दिएका छन्। आफूले कुनै हस्तक्षेप नगरेको र प्रक्रिया स्वतन्त्र रूपमा चलिरहेको उनको दाबी छ। लगानी गर्दा पृष्ठभूमि नजाँचेको भन्ने आलोचनामा उनले व्यापारिक निर्णयमा जोखिम स्वाभाविक हुने बताएका छन्। “पछि भएका घटनालाई अघिको निर्णयको दोष बनाउनु तथ्य होइन,” उनले उल्लेख गरेका छन्।कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिन उपयुक्त नहुने भन्दै उनले ढिलो प्रतिक्रिया दिएको विषयलाई पनि स्वाभाविक रूपमा लिन आग्रह गरेका छन्। अन्त्यमा, उनले आरोप र सत्य फरक हुने भन्दै प्रमाणका आधारमा मात्रै निर्णय हुनुपर्नेमा जोड दिएका छन्। साथै, पार्टीले गर्ने हरेक निर्णय स्वीकार गर्ने र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।