काठमाडौं । विसं २०८१ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल संख्या एक सय सात थियो । त्यसको एक वर्षपछि २०८२ असार मसान्तमा यस्तो संख्या एक सय छवटामा झर्यो । जसअन्तर्गत २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ फाइनान्स, ५१ लघुवित्त र एउटा पूर्वाधार बैंक छ ।
२०८२ फागुन मसान्तसम्ममा पनि बैंक तथा फाइनान्स कम्पनीहरूको कुल संख्या एक सय छवटा नै छ । तर यसबीचमा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल शाखा संख्या भने निरन्तर घट्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूको कुल शाखा संख्या ११ हजार चार सय ६५ छ ।
२०८२ असार मसान्तसम्ममा यस्तो संख्या ११ हजार पाँच सय २६ रहेको थियो भने २०८१ असार मसान्तसम्ममा बैंकिङ क्षेत्रको कुल शाखा ११ हजार पाँच सय ३० रहेको छ । राष्ट्र बैंकको यिनै तथ्यांकलाई आधार मान्दा पनि पछिल्लो समय बैंकिङ क्षेत्रको कुल शाखा सख्या निरन्तर घट्दै गएको देखिन्छ । चालू आवको फागुन मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीसहितका ५४ वटा संस्थाहरूको कुल शाखा संख्या छ हजार चार सय ८३ रहेको छ ।
यसमध्ये वाणिज्य बैंकहरूको पाँच हजार ६८, विकास बैंकहरूको एक हजार एक सय २३ र फाइनान्स कम्पनीहरूको दुई सय ९२ वटा शाखाहरू सञ्चालनमा छन् । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको पाँच हजार ८१, विकास बैंकहरूको एक हजार एक सय ३२ र फाइनान्स कम्पनीहरूको दुई सय ९१ वटा समेत गरी कुल छ हजार पाँच सय चार शाखा सञ्चालनमा थिए । राष्ट्र बैंकका अनुसार चालू आवको फागुन मसान्तसम्ममा बैंकिङ क्षेत्रको सञ्चालनमा रहेको कुल एटीएम काउन्टरको संख्या भने पाँच हजार दुई सय ६१ रहेको छ । जसमा वाणिज्य बैंकहरूको चार हजार आठ सय ८६, विकास बैंकहरूको तीन सय ३९ र फाइनान्स कम्पनीहरूको ३७ वटा एटीएम काउन्टरहरू सञ्चालनमा रहेका छन् । गत आवको सोही अवधिमा वाणिज्य बैंकहरूको चार हजार आठ सय ५७, विकास बैंकहरूको तीन सय ४४ र फाइनान्स कम्पनीहरूको ४१ वटा समेत गरी कुल पाँच हजार दुई सय ४२ वटा एटीएम काउन्टरहरू सञ्चालनमा रहेका थिए ।
राष्ट्र बैंकका अनुसार पछिल्लो समय बैंक तथा फाइनान्स कम्पनीहरूको कुल शाखा संख्या घट्नुको मूल कारण डिजिटल कारोबार बढ्नु हो । ‘डिजिटल कारोबार बढ्दा पछिल्लो समय बैंकिङ सेवाको लागि शाखामा नै पुग्ने ग्राहकको संख्यामा कमी आएको छ, यसले गर्दा पनि बैंकिङ क्षेत्रको शाखा घटेको हो’, नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता सुमन न्यौपाने भन्छन् । पहिला सानोभन्दा सानो कामको लागि पनि आम ग्राहकहरू बैंकको शाखामा जानुपर्ने हुन्थ्यो तर अहिले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम, कनेक्ट आईपीएस आदिले गर्दा सेवाको लागि शाखामा नै पुग्नुपर्ने बाध्यता हटेको छ । यसले गर्दा पनि पछिल्लो समय बैंकिङ क्षेत्र स्वयम्ले नै शाखाहरू घटाउँदै जाने रणनीति बनाएको उनको भनाइ छ ।
‘तर यसबीचमा बैंकहरूले शाखा घटाउने रणनीति लिएको भए पनि राष्ट्र बैंकले भने नियमनकारी निकायको नाताले आवस्यकता, औचित्य, बैंकिङ सेवाको माग, सेवाग्राहीलाई पर्नसक्ने असर समेतको अध्ययन गरेर उपयुक्त देखिएको खण्डमा मात्र शाखा कटौती गर्न अनुमति दिने गरेको छ । कुनै पनि बैंक तथा वित्तीय संस्थाले माग गरेकै आधारमा मात्रा हामीले शाखा कटौती गर्न अनुमति दिँदैनौँ’, उनले भने ।