महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा गएराती स्थानीय युवाहरुबीच आपसी विवाद हुँदा एक युवकमाथि चक्कु प्रहार गरी हत्या गरिएको छ । आफन्तको बिहेमा सहभागी भएका पुनर्वास नगरपालिका–५ का १८ वर्षीय उज्जल सायरको छातीमा चक्कु प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । धनगढीस्थित माया मेट्रो अस्पतालमा चक्कु प्रहरी गरी गम्भीर घाइते भएका सायरको उपचारका क्रममा राति मृत्यु भएको हो । हत्यामा संलग्न भएको आरोपमा स्थानीय २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टङ्क थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए । आरोपितहरुलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखिएको र घटनाको विस्तृत अनुसन्धान सुरु भइसकेको शाहीले जानकारी दिए ।