काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विलम्ब शुल्कमा छुट दिने घोषणा गरेको छ । कम्पनीले आफ्नो २५औँ वार्षिकोत्सव (रजत जयन्ती) को अवसर पारेर व्यतीत भएका बीमालेखहरू पुनः सक्रिय गराउने उद्देश्यले विलम्ब शुल्कमा विशेष छुट दिने योजना सार्वजनिक गरेको हो ।
कम्पनीले हालको आर्थिक कठिनाइका कारण धेरै बीमालेखहरू व्यतीत भइरहेका अवस्थालाई मध्यनजर गर्दै बीमितहरूलाई सहज रूपमा नवीकरण गर्न प्रोत्साहित गर्ने लक्ष्यसहित ‘विशेष बीमा पुनर्जागरण योजना २०८२/०८३’ लागू गरेको हो । यस योजनाअन्तर्गत मिति २०८३ वैशाख ७ गतेदेखि २०८३ जेठ ५ गतेसम्म व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा सत् प्रतिशतसम्म छुट प्रदान गरिने छ । रजत जयन्तीको अवसरमा कम्पनीले पहिलो पटक यति ठूलो विलम्ब शुल्क छुट योजना ल्याएको जनाएको छ । ३० दिनसम्म सञ्चालन हुने यस योजनाबाट बीमालेख व्यतीत भएका बीमितहरूले लाभ लिन सक्नेछन् । कम्पनीले सम्पूर्ण बीमितहरूलाई यस अवसरको सदुपयोग गर्दै आफ्नो बीमालेख नवीकरण गरी निरन्तर बीमा सुरक्षा कायम गर्न आग्रह गरेको छ ।
देशकै अग्रणी जीवन बीमा कम्पनीको रूपमा स्थापित नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले करिब ३० प्रतिशत बजार हिस्सा ओगट्दै आएको छ । विगत २५ वर्षदेखि लाखौं नेपाली परिवारहरूको विश्वास जित्दै आएको कम्पनीले देशभरका ७७ वटै जिल्लामा फैलिएको शाखा सञ्जाल र ६९ हजारभन्दा बढी अभिकर्तामार्फत सेवा दिँदै आएको छ ।
यसै सन्दर्भमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ग्राहकको विश्वासलाई सधैं उच्च प्राथमिकतामा राखिएको उल्लेख गर्दै बीमालेख व्यतीत हुनु विभिन्न कारणले हुन सक्ने बताए । उनले ग्राहकलाई पुनः बीमा सुरक्षाको दायरामा ल्याउने उद्देश्यले यस्तो विशेष छुट योजना ल्याइएको स्पष्ट पार्दै सबै बीमितहरूलाई यस अवसरको अधिकतम उपयोग गर्न आग्रह गरे । उनले भने, ‘नेपाल लाइफ सधैं आफ्ना ग्राहकको विश्वासको सहयात्रीका रूपमा रहनेछ ।’