काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल १९ वर्ष पूरा गरी २०औं वर्षमा प्रवेश गरेको छ । विसं २०६४ साल वैशाख ७ गते २०औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रुपमा ग्राहकहरूमाझ उत्कृष्ट सेवा पुर्याँउदै आएको बैंकले वैशाख ७ गते १९ वर्ष पूरा गरी २० वर्षमा प्रवेश गरेको अवसरमा आफ्नो १९औं वार्षिकोत्सव मनाएको हो । यस १९ वर्षको अवधि पार गरिसक्दा बैंकले २० लाख ११ हजार ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय सञ्चालनका साथै दुई सयवटा शाखाहरूमार्फत चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले कुल निक्षेप करिब दुई खर्ब १६ अर्ब संकलन गरी कर्जातर्फ एक खर्ब ७७ अर्ब परिचालन गरेको छ ।
बैंकले १९औं वार्षिकोत्सवको अवसरमा वैशाख ७ गते बिहानै सातवटै प्रदेशमा करिब नौ सय ४६ कर्मचारीहरूको सहभागितामा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले रक्तदान नै जीवनदान भन्ने नारालाई सार्थक बनाउँदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केही हदसम्म भए पनि पूरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाइटीसंगको सहकार्यमा सातवटै प्रदेशका कुल २० शाखाहरूबाट पाँच सय ५० जना रक्तदाताको सहभागीमा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । साथै यसै अवसरमा कोशी प्रदेशअन्तर्गत दिक्तेल शाखा, बागमती प्रदेशअन्तर्गत तेमाल शाखा र लाम्बगर शाखा, लुम्बिनी प्रदेश अन्तर्गत बेलाटारी शाखा र साउ फर्साटीकर शाखा, गण्डकी प्रदेशअन्तर्गत धारापानी शाखा र बेनी शाखा, कर्णाली प्रदेशअन्तर्गत जुफाल शाखा र सुदूरपश्चिम प्रदेशअन्तर्गत अमरगढी शाखाले निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका छन् । शिविरमा करिब पाँच सय जना सेवाग्राहीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गराउनुका साथसाथै आवश्यक औषधिहरूसमेत निःशुल्क प्राप्त गरेका छन ।
सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूलाई अझ सहज, सुरक्षित तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यका साथ मोबाइल बैंकिङ सेवा डिजी बैंकिङमार्फत केवाईसी विवरणहरू अनलाइनबाट पुनः अद्यावधिक गर्ने सुविधा सुरु गरेको छ, जसमार्फत अब ग्राहकहरूले बैंक शाखामा उपस्थित नभई आफ्नै मोबाइल बैंकिङ प्रयोग गरी सजिलै केवाईसी विवरण अद्यावधिक गर्न सक्नेछन्; साथै बैंकले नेपालमै पहिलो पटक व्यावसायिक बैंकिङका लागि र्यापिड एपीआईमा आधारित बैंकिङ प्रणालीको सुरुवात गर्दै ग्राहकहरूको ईआरपी प्रणालीलाई बैंक खातासँग प्रत्यक्ष रूपमा जोड्ने व्यवस्था गरेको छ, जसले वास्तविक समयमा व्यालेन्स जाँच तथा स्टेटमेन्ट हेर्न सकिने सुविधा प्रदान गर्दछ; यसका अतिरिक्त, पेमेन्ट सर्भिस लिमिटेडसँगको सहकार्यमा माइक्रो एसएमई, मिड एसएमई तथा कर्पोरेट ग्राहक लक्षित फोन पे कर्पोरेट सोलुसन्स सेवा पनि सञ्चालनमा ल्याइएको छ, जसमार्फत मोबाइल, कम्प्युटर वा एपीआई आधारित प्रणाली प्रयोग गरी भुक्तानी तथा निक्षेपसम्बन्धी सम्पूर्ण कारोबार बैंक शाखामा भौतिक उपस्थितिविना नै गर्न सकिने छ ।
‘विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना दुई सयवटा शाखा, एक सय ६९ वटा एटीएम, तीनवटा विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग इकाइहरूबाट २० लाख ११ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।