काठमाडौं । नेपाल वायु सेवा निगमले काठमाडौँदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ ।
निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्य भइरहेको जनाएको छ । छिमेकी देश भए पनि बङ्गलादेशको राजधानी ढाकामा नेपाली ध्वजावाहक विमानले उडान भर्न सकेको थिएन । सोही आवश्यकतालाई ध्यानमा राखेर आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमका अपरेसन विभाग निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजालले जानकारी दिए । बङ्गलादेशबाट हाल काठमाडौँमा नियमित उडान हुँदै आएको छ । नेपालको निजी क्षेत्रको हिमालयन एयरलाइन्सले पनि ढाकामा उडान भर्दै आएको छ । राष्ट्रिय ध्वजावाहकको उडान भने हालसम्म हुन सकेको छैन । अध्ययन समितिले दिने प्रतिवेदनका आधारमा उडान तय गरिने निगमले जनाएको छ ।
त्यसैगरी निगमले काठमाडौँ–दिल्ली–काठमाडौं हवाई उडान सेवा थप विस्तार गरेको छ । हाल सो रुटमा निगमले गत चैत १७ गतेदेखि सातामा थप तीन दिन उडान थप गरेको छ ।