काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौंबीच सम्झौता भएको छ ।
स्वास्थ्य सेवा, शिक्षा तथा अनुसन्धानमा गुणात्मक वृद्धि गर्ने दीर्घकालीन नीतिअनुरुप उक्त सम्झौता गरिएको कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता प्राडा शमशेर श्रेष्ठले जानकारी दिए । सम्झौतामा प्रतिष्ठानका उपकुलपति प्राडा विक्रम प्रसाद श्रेष्ठ र तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा सन्दुक रुइतले हस्ताक्षर गरेका छन् । चिकित्सा शिक्षाका यी दुई शिक्षण संस्थाहरूबीच शैक्षिक सहयोग आदान प्रदानका लागि शिक्षक तथा विद्यार्थी आदान प्रदान, संयुक्त आँखा स्वास्थ्य शिविर तथा सर्जिकल क्याम्प सञ्चालन, विशेषज्ञ सेवाहरूलगायत तालिम तथा सीएमसी, आँखा उपचारका क्षेत्रमा संयुक्त रूपमा अध्ययन अनुसन्धानलगायतका कार्यक्रमहरू सञ्चालन गर्ने सहमति भएको हो । उक्त समझदारीबाट दुवै संस्था तथा आम जनमानससमेत लाभान्वित हुने विश्वास लिइएको छ ।