काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लगानी बोर्डको काम कारबाहीप्रति असन्तुष्टि देखाएका छन् । मंगलबार आफ्नै संयोजकत्वमा बसेको अनुगमन तथा सहजीकरणस मितिको १३औँ बैठकमा उनले अर्को बैठकमा आउँदा प्रशस्त प्रगति देखिने काम गर्न भनेका हुन् ।
बैठकमा अर्थमन्त्री वाग्लेले ५५ वटा आयोजनाको लगानी स्वीकृत भएर दुईवटा मात्रै कार्यान्वयनमा जानु लाजमर्दो भएको बताएका थिए । ‘विदेशी लगानी स्वीकृत भएको यति लामो समयमा काम नै नभएपछि निर्मम भएर समीक्षा गर्नुपर्ने भयो। ५५ वटा आयोजनाको लगानी स्वीकृत भएर दुईवटा मात्रै कार्यान्वयनमा जानु लाजमर्दो कुरा हो’, वाग्लेले भने ।
परियोजनामा विदेशी लगानी स्वीकार गरेर आयोजना निर्माणमा थप काम नहुनुको दोषी पत्ता लगाउनु पर्ने वाग्लेको भनाइ छ । ‘दोषी को हो? मान्छे भए मान्छे र कानुन भए कानुन फेर्नै पर्ने अवस्था आयो। समस्या के हो त्यो तुरुन्तै चाहियो,’ उनले भने, ‘अब १४औँ बैठकमा समस्या समाधान गरेर थप प्रगति नभए निर्मम भएर सोचिन्छ ।’
लगानी सहजीकरण गर्ने यति शक्तिशाली निकाय निरीह देखिँदा अत्यन्तै गलत सूचना सञ्चार भएको वाग्लेको भनाइ छ । कम्तिमा १० वटा परियोजनामा तत्काल प्रगति देखिनुपर्ने र लगानी बोर्डबाट स्वीकृत भएका केही फेन्सी आयोजनाबारे थप सोचेर निर्णय गर्नुपर्ने उनले बताए ।
बैठकमा सहभागी प्रधानमन्त्री वालेन्द्र शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले देशको भविष्य बोकेका आयोजना र विकासका परियोजनाको हालत अत्यन्तै दयनीय देखिएको टिप्पणी गरेका थिए । ‘परियोजना अघि बढाउन प्रगतिको बाधक के–के हुन तत्काल सम्बोधन गरियोस्। कुन निकाय ? कुन व्यक्ति ? के–के कारणले समन्वय गर्न नसकेको हो ? अब यो मनिटरिङ हुन्छ,’ ढकालले भने ।
बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले लगानी बोर्ड, कार्यालय तथा समितिको काम कर्तव्य, अधिकार, बोर्डबाट स्वीकृत तथा सहजीकरण गरिरहेका आयोजनाबारे जानकारी गराएका थिए । उनले यसअघिको १२औँ बैठकले गरेको निर्णय कार्यान्वयन लगायतका विषयमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए ।