काठमाडौं । विकास बैंकहरूको खुद मुनाफामा सामान्यरूपमा बढेको देखिएको छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा निक्षेप बढेर अधिक तरलताको अवस्था रहे पनि कर्जामा प्रवाहमा संकुचन देखिँदा यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रको खुद ब्याज आम्दानीमा परेको छ ।
तर यही अवस्था कायम रहे पनि सञ्चालनमा रहेका क्षेत्रीय र राष्ट्रियस्तरका समेत गरी १७ वटा विकास बैंकमध्ये राष्ट्रियस्तरका मात्र आठवटा विकास बैंकको चालू आर्थिक वर्षको आठ महिनाको खुद मुनाफा झण्डै १० प्रतिशतले बढेको देखिएको हो ।
राष्ट्र बैंकका अनुसार राष्ट्रियस्तरका विकास बैंकहरूले चालू आवको फागुन मसान्तसम्ममा कुल चार अर्ब ५८ करोड ९७ लाख ६० हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा नौ दशमलव ६२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा विकास बैंकहरूले कुल चार अर्ब १८ करोड ७० लाख १० हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
चालू आवको पछिल्लो आठ महिनामा सबैभन्दा बढी नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ भने सबैभन्दा कम नाफा लुम्बिनी विकास बैंकले कमाएको छ । यस अवधिमा मुक्तिनाथले ९८ करोड ३० लाख रुपैयाँ खुद मुनाफा कमाउँदा लुम्बिनीले २५ करोड १२ लाख ५० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा यी दुई विकास बैंकहरूको खुद मुनाफा क्रमशः ७८ करोड ९८ लाख १० हजार र ३१ करोड एक लाख ९० हजार रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी नाफा कमाउने दोस्रो ठूलो बैंकमा गरिमा विकास बैंक परेको छ । गरिमाले चालू आवको पछिल्लो आठ महिनामा ९२ करोड ८२ लाख १० हजार रुपैयाँ खुद मुनाफा कमाउँदा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ६५ करोड ७० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा यी बैंकहरूले क्रमशः ८३ करोड ४८ लाख ३० हजार र ५६ करोड ४८ लाख १० हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
कामना सेवा र ज्योति विकास बैंकले पनि चालू आवको पछिल्लो आठ महिनामा क्रमशः ५६ करोड २७ लाख ३० हजार र ४६ करोड ३३ लाख ८० हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । गत आवको सोही अवधिमा यि दुई बैंकहरूले क्रमशः ५० करोड ११ लाख र ३६ करोड एक लाख ३० हजार रुपैयाँ खुद मुनाफा कमाएका थिए ।
चालू आवको फागुन मसान्तसम्ममा साँग्रीला डेभलपमेन्ट बैंकले भने ४१ करोड ७१ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा ४० करोड ६६ लाख रुपैयाँ रहेको थियो । महालक्ष्मी विकास बैंकले पनि चालू आवको फागुन मसान्तसम्ममा ३३ करोड ४० लाख २० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । राष्ट्र बैंकका अनुसार गत आवको सोही अवधिमा महालक्ष्मीको यस्तो नाफा ४२ करोड १५ लाख ४० हजार रुपैयाँ रहेको थियो ।