काठमाडौं । माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही वैशाख १७ गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण सेयरको बिक्री खुल्ला गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डबाट कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँ बराबरको २५ लाख ८० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये आठ करोड ६० लाख रुपैयाँ बराबरको प्रतिसेयर एक सय रुपैयाँ दरका आठ लाख ६० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्कासन गर्न लागेको हो । उक्त सेयरमध्ये तीन लाख ४४ हजार कित्ता सेयर अति प्रभावित क्षेत्र, सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं १ र २ का स्थानिय बासिन्दाहरूमा बाँडफाँट गरिने छ भने, बाँकी पाँच लाख १६ हजार कित्ता प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिकाका १ र २ बाहेक अन्य वडाहरूका स्थायी बासिन्दाहरूमा बाँडफाँट गरिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने एक करोड ७२ लाख रुपैयाँबराबरको प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका एक लाख ७२ हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको हो । उक्त सेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्ने छ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरूका लागि निष्कासन बन्द छिटोमा वैशाख ३१ गते हुनेछ भने ढिलोमा जेठ १८ गते बन्द हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन बन्द छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ गते हुनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको छ ।