काठमाडौं । सोपान फर्मास्यूटिकल्स लिमिटेडले सर्वसाधारणका लागि खुलाएको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने अवधि सकिएको छ । कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरेको थियो । सो अनुसार मंगलबार कम्पनीको सेयर खरिद अवधि सकिएको हो ।
कम्पनीले एक अर्ब ७१ करोड ६० लाख रुपैयाँ जारी पुँजीको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँको ४२ लाख ९० हजार कित्ता सेयर निष्कासनको अनुमति पाएको थियो । सोमध्ये केही हिस्सा वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइसकेपछि बाँकी ३४ लाख ७४ हजार नौ सय कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । साधारण सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो । आवेदन सी–आश्वा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’ अनलाइन प्रणालीबाट दिन सकिने व्यवस्था तोकिएको थियो ।