काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका पूर्वअध्यक्ष डा. बलराम पाठक पक्राउ परेका छन् । गतिशील सहकारी संस्थामा समेत अध्यक्ष रहेका पाठक सहकारीको रकम अपचलन गरेका आधारमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पाठकलाई उनकै निवास इमाडोलबाट पक्राउ गरिएको हो । पाठक विसं २०७८ साल कात्तिक महिनामा राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष नियुक्त भएका थिए ।
तत्कालीन समयमा पाठकले तत्कालीन गर्भनर डा. महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका थिए । अर्थशास्त्री समेत रहेका पाठकले नेतृत्व गरेको गतिशील सहकारीको करोडौँ रकम अपचलन भएको बुझिएको छ ।
पक्राउ परेका पाठकविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । पाठकविरुद्ध अदालतले सात दिनको म्याद थप गर्दै अनुसन्धान अगाडि बढाउन अनुमति दिएको छ । थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
उनले भने, ‘गतिशील सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोपमा हाम्रो टोलीले अध्यक्ष पाठकलाई नियन्त्रणमा लिएको हो । आज (मंगलबार) अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अगाडि बढाएका छौँ ।’