काठमाडौँ , मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईँविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गत काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले प्रसाईँलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७(१) बमोजिम सजाय माग गर्दै अभियोगपत्र दायर गरेको हो। उक्त प्रावधानअनुसार कसुरदारलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। अभियोजन पक्षले प्रसाईँले पटक–पटक यस्तै प्रकृतिको कसुर गरेको दाबी गर्दै दफा ४७(२) अनुसार थप सजायको माग पनि गरेको छ। साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउन पनि माग गरिएको छ। अभियोगपत्रअनुसार प्रसाईँले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी निर्वाचन लक्षित भ्रामक तथा उत्तेजक अभिव्यक्ति दिएको आरोप छ। विशेषगरी २०८२ फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनविरुद्ध अभिव्यक्ति दिँदै “निर्वाचन भए देश टुक्रिन्छ” भन्ने जस्ता भनाइमार्फत वैमनस्यता फैलाउने प्रयास गरेको प्रहरी अनुसन्धानले देखाएको छ। यस्तै, उनले फेसबुकमा भिडियो सन्देशहरू पोस्ट गर्दै राजसंस्था र हिन्दु राज्य पुनःस्थापना नभएसम्म चुनाव हुन नदिने र चुनाव भए अशान्ति मच्चिने चेतावनी दिएको अभियोगपत्रमा उल्लेख छ। ती भिडियोहरूमा “मर्न र मार्न तयार हुने” जस्ता हिंसात्मक तथा उत्तेजक अभिव्यक्ति प्रयोग गरिएको प्रमाणका रूपमा पेश गरिएको छ। प्रहरी अनुसन्धानका आधारमा प्रसाईँमाथि निर्वाचन आचारसंहिता २०८२ उल्लंघनको समेत आरोप लगाइएको छ। मुद्दामाथि अब अदालतमा सुनुवाइ प्रक्रिया अघि बढ्नेछ।