नेपालगन्ज (बाँके) । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका खासगरी रसेल भाइपर, फेटारा, गोबन, करेत, धामन, अजिङगरलगायतका विषालु सर्प देखिन थालेको डिभिजन वन कार्यालयले जनाएको छ ।
गर्मी खप्न नसक्ने अवस्थाले सर्प चिसोको खोजीमा बाहिर निस्कँदा केहीको घरमा पसेको उल्लेख गर्दै वन कार्यालयका सिनियर डिभिजन वन अधिकृत शङ्करप्रसाद गुप्ताले ती सर्पको उद्धार गरिएको बताए । “अहिले दैनिकजसो एउटा सर्पको बस्तीबाट उद्धार गरिएको छ र कहिलेकाहीँ दिनमा तीन सर्पको समेत उद्धार गरिएको छ”, उनले भने ।
विगतको वर्षभन्दा बढी सर्प अहिलेको गर्मीमा जमिन बाहिर देखिएको जानकारी दिँदै उनले ती सर्पको उद्धार गरेर जङ्गलमा लगेर छाडिएको बताए । नेपालगन्जबाहेक कोहलपुरबाट समेत सर्पको उद्धार भएको उनले बताए ।
उनले अहिलेसम्म यस आर्थिक वर्षमा १४० विभिन्न प्रजातिका सर्पको उद्धार गरिएको जानकारी दिए । सर्प उद्धार गर्नका लागि सशस्त्र वनरक्षक थीरबहादुर थापाको संयोजकत्वमा उद्धार टोली गठन गरिएको गुप्ताको भनाइ छ । सो टोलीलाई केही उपकरणसहित सामान्य तालिम दिइएको थियो ।