न्युयोर्क । सन् २०२५ मा आप्रवासन मार्गहरूमा लगभग सात हजार ९०० व्यक्तिको मृत्यु भएको छ वा बेपत्ता भएका संयुक्त राष्ट्रसंघको आप्रवासन निकायले मंगलबार सार्वजनिक उक रिपोर्टमा भनेको छ । यससँगै आप्रवासनका क्रममा सन् २०१४ देखि सन् २०२५ को अन्त्यसम्म कुल मृतक र बेपत्ता व्यक्तिहरूको संख्या ८० हजारभन्दा बढी भएको छ ।
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले सुरक्षित मार्गहरू पहुँचभन्दा बाहिर हुँदा मानिसहरू खतरनाक, अनियमित यात्रामा जान बाध्य हुनेगरेको र ज्यान गुमाउने गरेको बताएको छ । सङ्गठनले देशहरूलाई आप्रवासन मार्गहरूमा बढीभन्दा बढी जीवन बचाउन राजनीतिक इच्छाशक्ति खोज्न आग्रह गरेको छ ।
आईओएमले भनेको छ, ‘सन् २०२५मा विश्वभर आप्रवासनका क्रममा करिब सात हजार ९०० मानिसको मृत्यु वा बेपत्ता भएको अभिलेख राखिएको छ ।’ आईओएमको बेपत्ता आप्रवासी परियोजनाले सन् २०१४ यता आप्रवासनका क्रममा ८० हजारभन्दा बढीको मृत्यु र बेपत्ताको अभिलेख राखेको छ । ‘यद्यपि यी तथ्यांकहरूले प्रभावित व्यक्तिहरूको वास्तविक संख्याको सबैभन्दा कम सीमालाई प्रतिनिधित्व गर्दछ, तर पनि यसले आप्रवासी मृत्युको अन्त्य गर्न र पछाडि छोडिएका परिवारहरूको जटिल आवश्यकतालाई सम्बोधन गर्न तत्काल प्रतिक्रियाको आवश्यकतालाई जोड दिन्छ’, आईओएमले भनेको छ ।
आईओएमले सन् २०२५ मा भएको हजारौँको मृत्यु र बेपत्ताको अभिलेखले यी रोकथाम गर्न सकिने मृत्युलाई अन्त्य गर्न विश्वव्यापी असफलताको निरन्तरता र वृद्धिलाई संकेत गरेको बताएको छ । ‘सन् २०२५ मो सहायता कटौती र खतरनाक अनियमित मार्गहरूको सूचनामा प्रतिबन्ध लगाइएको थियो, जसले धेरै भन्दा धेरै बेपत्ता आप्रवासीहरूको गणनालाई कठिन बनाएको थियो’, विज्ञप्तिमा भनिएको छ । यसैबीच, आप्रवासीहरूको वेपत्ता हुने समस्याले गर्दा अहिले कम्तिमा तीन लाख ४० हजार परिवारका सदस्यहरू प्रत्यक्ष रूपमा प्रभावित भएको अनुमान गरिएको छ । उनीहरूले आफ्नो नातेदारको मनोवैज्ञानिक, सामाजिक, कानुनी र आर्थिक प्रभावहरूको सामना गरिरहेका आईओएमले जनाएको छ । बेपत्ता हुने समस्या अझै पनि समाधान भएको छैन ।