वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको टोली पठाउनुको अर्को विकल्प नभएको बताएका छन् । उनले वार्ता सफल नभए इरानी संरचनाहरू समेत ‘ध्वस्त’ बनाइदिने चेतावनी दिइसकेका छन् । सीएनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले इरानसँग सम्झौता हुने आशा व्यक्त गर्दै भने, ‘मलाई लाग्छ हामीबीच धेरै राम्रो सम्झौता हुनेछ ।’
उनले भने, ‘संयुक्त राज्य अमेरिका वार्ता गर्न राम्रो स्थितिमा छ । हामी ‘स्ट्रेट अफ हर्मुज’लाई नियन्त्रण गर्ने अवस्थामा छौँ ।’ उता इस्लामावादमा प्रस्तावित वार्तामा इरान सहभागी हुने वा नहुने भन्ने अझै स्पष्ट भइसकेको छैन । इरानको संसदका सभामुख बघर गालिबाफले विगत दुई हप्तादेखि इरानले युद्धको मैदानमा नयाँ कार्ड देखाउने तयारी गरिरहेको बताएका छन् । उनले इरानले ‘चेतावनीको छायामा रहेर वार्ता स्वीकार नगर्ने’ पनि बताए । अमेरिकाले युद्धविराम लम्ब्याउँछ कि भनेर सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, ‘म त्यसो गर्न चाहन्नँ ।’ उनले इरानको पनि एउटै बाटो वार्ताको विकल्प नरहेको बताए । अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि गरिएको नौसैनिक नाकाबन्दीलाई युद्धमा ‘ठूलो सफलता’ भनेका छन् ।
वार्तामा केही प्रगति भएको नदेखिए युद्धविरामको प्रक्रिया अघि बढाउनुहुन्छ भनी सोधिएको प्रश्नमा अमेरिकी राष्ट्रपति ट्रम्पले थपे, ‘म त्यसो गर्न चाहन्नँ । मलाई लाग्छ, इरानसँगको वार्तामा कुनै प्रगति सम्भावना नदेखिए यसको विकल्प ‘व्यापक आक्रमण’ हुनेछ । त्यो धेरै राम्रो तरिका हुनेछ ।’ उनले सम्झौतामा पुग्न धेरै समय बाँकी नरहेको र यदि इरानले अमेरिकासँग सम्झौता गरेमा उसले आफूलाई ‘धेरै राम्रो स्थिति’ मा राख्न सक्ने बताए । अमेरिकी राष्ट्रपतिले इरानसँग सम्झौता गरेमा इरान फेरि बलियो हुने र महान देश बन्न सक्ने बताए । उनले भने, ‘तपाईंलाई थाहा छ, हामी तयार छौँ । मेरो मतलब, अमेरिकी सेना पूर्ण रूपमा तयार छ ।’
तयारी गरिएको भएपनि इरानले अझै यही अवस्थामा वार्ताका लागि सहमति जनाएको छैन । इरानको सरकारी मिडियाले आफ्नो टेलिग्राम पोस्टमा भनेको छ, ‘अहिलेसम्म इरानको कुनै पनि प्रतिनिधिमण्डलले इस्लामाबाद प्रस्थान गरेको छैन ।’ टेलिग्राम पोस्टमा मिडिया रिपोर्टलाई ‘अफवाह’को रूपमा वर्णन गरिएको थियो जसमा इरानी प्रतिनिधिमण्डलको प्रस्थानको मितिको बारेमा दाबी गरिएको छ । यसैबीच, इरानी अधिकारीहरूको पुरानो अडान दोहोराएका छन् । संसदका सभामुख गालिबाफलगायतका अधिकारीले भनेका छन्, ‘तेहरानले धम्कीको छायामा कुनै पनि वार्ता स्वीकार गर्दैन ।’
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रतिनिधिमण्डल वार्ताका लागि पाकिस्तान जाने यसअघि नै बताइसकेका थिए । पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मुकद्दमले इरान सुरक्षा जोखिम र खतराबाट डराएको बताएका छन् । पाकिस्तानका लागि इरानका राजदूत रेजा अमीरी मुकद्दमले एक वक्तव्य जारी गरेका छन् । रजा अमीरी मुकद्दमले एक्समा लेखेका छन्, ‘यो सर्वविदित छ कि जोसँग महान् सभ्यता छ, ऊ डर र दबाबमा सम्झौता गर्दैन । यो एक महत्त्वपूर्ण इस्लामिक र धार्मिक सिद्धान्त हो। म चाहन्छु कि अमेरिकाले यो कुरा बुझ्न सकोस् ।’
इरानको रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) सँग सम्बद्ध फार्स न्यूज एजेन्सीले टेलिग्राममा इरानको सबैभन्दा ठूलो सैन्य मुख्यालयका कमान्डरको बयान साझा गरेको छ । फार्सका अनुसार मेजर जनरल अब्दुल्लाहीले फारसी भाषामा लेखेका छन्, ‘आईआरजीसीले इजरायल र संयुक्त राज्य अमेरिकालाई झुक्न पारेको छ, उनीहरूलाई युद्धविराम माग गर्न बाध्य पारेको छ ।’
उनले विशेष गरी स्ट्रेट अफ हर्मुजको मुद्दामा सशस्त्र बलले अमेरिकी राष्ट्रपतिलाई जमिनको अवस्थाको बारेमा झुटो र गलत कथा सिर्जना गर्न अनुमति नदिने बताए । बीबीसीका अनुसार इरानभित्र राजनीतिक तनाव छ, जहाँ कट्टरपन्थीहरूले वार्ताकारहरूलाई कूटनीतिको सट्टा टकरावको बाटो रोज्न दबाब दिइरहेका छन् । इरान र अमेरिकाबीच अप्रिल ८ मा दुई हप्ताको युद्धविराम का लागि हस्ताक्षर भएको थियो । यदि अवधि विस्तार गर्ने सहमति नभएमा यो बुधबार समाप्त हुनेछ ।