काठमाडौं । सेयर लगानीकर्ता दीपक भट्ट र सुलभ अग्रवालमाथि जारी सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) सम्बन्धी मुद्दामा थप अनुसन्धान गर्न अदालतले सात दिनको म्याद थप गरेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले बुधबार म्याद थपको अनुमति दिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निवेदनका आधारमा अदालतले यस्तो आदेश दिएको हो । मुद्दाको सुनुवाइका क्रममा विपक्षीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल, लभ कुमार मैनाली, सुरेन्द्र कुमार महतो तथा अधिवक्ताहरू रमण कुमारे कर्ण, समिर कुमार शर्मा र भावेश गौतमले बहस गरेका थिए । अनुसन्धान निकायले आरोपितहरूलाई ३० दिन हिरासतमा राखी थप अनुसन्धान गर्न माग गरेको थियो ।
तर, अदालतले हाललाई सात दिन मात्र म्याद थप गरेको हो । अनुसन्धान अधिकृतका अनुसार मुद्दाको अनुसन्धान कार्य अन्तिम चरणमा पुगेको छ भने बीमा ऐन र धितोपत्र ऐनअन्तर्गतका सम्बद्ध कसुरहरूबारे थप छानबिन, राय प्रतिवेदन तयारी तथा अभियोगपत्र दायर गर्न समय आवश्यक रहेको उल्लेख गरिएको थियो । अदालतले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १७ को उपदफा (४) बमोजिम मिति २०८३ साल वैशाख ९ गतेदेखि लागू हुनेगरी सात दिनको म्याद थप गरेको आदेशमा उल्लेख छ । अब उक्त अवधिभित्र बाँकी अनुसन्धान कार्य सम्पन्न गरी अभियोगपत्र दायर गर्ने प्रक्रिया अघि बढाइनेछ ।