काठमाडौँ । जलवायु न्यायका लागि हिमाली र पर्वतीय राष्ट्रहरूको नेतृत्व नेपालले गर्नुपर्नेलगायत नौ बुँदे गोक्यो घोषणापत्र जारी गर्दै खुम्बु क्षेत्रमा जलवायु सम्मेलन सम्पन्न भएको छ ।
सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिका र जलवायुका क्षेत्रमा कार्यरत संस्था ‘साथसाथै’ले आयोजना गरेको गोक्यो जलवायु सम्मेलनपछि घोषणापत्र जारी गरिएको हो । विश्व पृथ्वी दिवसको अवसरमा बुधवार गोक्योमा आयोजित सम्मेलनपछि जारी गरिएको घोषणापत्रमा जलवायु कूटनीति सुढृढीकरण गर्न र अन्तरराष्ट्रिय मञ्चहरूमा हिमाली मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने उल्लेख छ । विषयगत विज्ञसहित काठमाडौंदेखि लुक्ला–नाम्चे–खुम्जुङ– मचेर्माे हुँदै टोली गोक्यो पुगी सो घोषणापत्र जारी गरेको सो संस्थाले जनाएको छ । प्रतिनिधिसभाका पूर्वउपसभामुख तथा सांसद इन्दिरा राना मगरले घोषणापत्र वाचन गर्दै नागरिक तहबाट जलवायु न्यायका लागि सरकारलाई झक्झक्याउने काम गरेको बताइन् । जलवायु परिवर्तनले ल्याएको समस्या थेग्न सरकार एक्लैले सक्दैन, यसरी प्रभावित क्षेत्रमै पुगेर नागरिकसगँ हातेमालो गर्नुपर्छ । उनले भनिन्, ‘सरकार र संसद्ले पनि यो घोषणापत्रमा उल्लेखित सुझावहरू सुन्नुपर्छ ।’ अन्तरक्रियामा हिमनदी विज्ञ अरूणभक्त श्रेष्ठले हिमताल फुट्ने जोखिमको खतरा सम्बोधन गर्न यो सम्मेलनले ध्यानाकर्षण गराउने बताए ।