बाँके । सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती गर्न थालेका छन् । आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता अब हटेको छ । विगतमा बर्खेधान स्यहारेपछि सिँचाइको अभावमा खेत बाँझै राख्दै आएका किसानले अहिले धान स्यहारेपछि आलु वा तोरीखेती लगाउने र त्यसलगत्तै वसन्ते मकैखेती गरी वर्षमा तीन बाली खेती गर्न थालेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकले बताए ।
सिँचाइको व्यवस्था भएसँगै तीन बाली खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ, आलु र वसन्ते मकैबाट किसानले नगद कमाइ रहनुभएको छ । उनले भने, ‘बर्खेधान स्यहारिसकेपछि गहुँखेती गर्ने किसान दुई बालीमा सीमित हुनुहुन्छ भने गहुँखेतीको सट्टा तोरी वा आलुखेती गर्ने किसानले मकैखेतीसमेत गर्न भ्याउनुभएको छ ।’ गहुँखेतीको तुलनामा तोरीखेती वा आलुखेती छिटो तयार हुने भएकाले त्यसलगत्तै मकैखेती समेत गर्न सकिने भएकाले तीन बाली खेती गर्न कृषि ज्ञान केन्द्रले समेत प्रोत्साहन गर्दै आएको अधिकृत पाठकले जानकारी दिए । बाँके जिल्लामा सिञ्चित क्षेत्र लक्षित बाली सघनता वृद्धि कार्यक्रमअन्तर्गत तीन बाली खेती गर्ने किसानलाई वसन्ते मकैखेतीमा ज्ञान केन्द्रले बीउ तथा प्राविधिक सहयोग गरेर प्रोत्साहन गर्दै आएको उनको भनाइ छ ।
बाँकेमा बर्खेधान ३३ हजार ७८० हेक्टर, गहुँखेती २० हजार ८९५ हेक्टर, वसन्ते मकै तीन हजार ५००, आलु तीन हजार २५०, तोरी छ हजार ५३०, हिउँदे मकै १३५ हेक्टर क्षेत्रमा खेती हुँदै आएको छ । सिक्टा सिँचाइ आयोजनाले नहरमा पानी छोडेपछि खेती गर्न किसानलाई सहज हुँदै आएको छ ।