काठमाडौँ । दोलखाको मुख्य पर्यटकीय क्षेत्र शैलुङ र कालिञ्चोकमा पछिल्लो दिनहरुमा पर्यटक आगमन उल्लेखनीय रूपमा वृद्धि भएको छ । सरकारले दिएको हप्तामा दुई दिनको सार्वजनिक विदाका कारण यहाँका दुई क्षेत्रमा नै पर्यटकको संख्या वृद्धि हुँदै गएको छ ।
वैशाख महिनाको पहिलो सातामात्र दुई लाख बढीले शैलुङ तथा कालिञ्चोकको भ्रमण गरेका छन् । विश्व महामारीको रूपमा फैलिएको कोरोनापछि एउटै साता यति ठूलो संख्यामा पर्यटक भित्रिएको यो दोलखाको हकमा पहिलो रेकर्ड हो । दोलखा धार्मिक तथा पर्यटकीय हिसाबले अति सुन्दर जिल्ला मानिन्छ । लामोसमय सुस्ताएको पर्यटन क्षेत्र क्रमशः लयमा फर्किन थालेको यहाँका पर्यटन तथा होटल व्यवसायीहरुले बताउन थालेका छन् । कोभिडअघिको तुलनामा यस वर्ष कालिञ्चोक र शैलुङ क्षेत्र घुम्ने आन्तरिक तथा बाह्य पर्यटक क्रमशः दैनिक बढ्न थालेको शैलुङ क्षेत्रमा रहेको कालापानीस्थित शैलुङ इको भिलेज रिसोर्टका सञ्चालक दिनेश श्रेष्ठले बताए । उनकाअनुसार यसअघि एकदिन मात्रै विदा हुँदा मान्छेहरु दिनभर घुमेर फर्किने गर्थे । तर अहिले सरकारले सातामा दुई दिन शनिबार र आइतबार नै विदा दिएको कारण शैलुङ आउँदा एक दिनरातको बसाइँसहितको प्याकेज नै बनाएर आउने गरेको उनले जानकारी दिए ।
शैलुङमा हाल लजसहितका २० वटा होटल सञ्चालनमा छन । एउटा होटलले ६० देखि सयजना मान्छे राख्दै आएको श्रेष्ठले बताए । उनका अनुसार २०८३ साल सुरु भएदेखी दैनिक १ हजार ५ सय पर्यटक दैनिक शैलुङडाँडा आउने गरेका छन् । त्यसमा पनि ५÷६ सय मानिस भने बाँस बस्नेगरी आउने गरेको उनले बताए । उनको अनुसार चैत महिनामा भन्दा ३५ प्रतिशत बढी पर्यटक वैशाखको पहिलो हप्तामा नै शैलुङको कालापानीमै बस्ने गरी आएका छन् । फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेको उनले बताए । उनका अनुसार नयाँ वर्षको पहिलो दिन शैलुङ क्षेत्र पर्यटकले भरिएको थियो । वैशाख १ गते झण्डै ६० हजार मानिसले शैलुङ घुमेका थिए ।
शनिबार शैलुङ आइतबार कालिञ्चोक, दुई दिनको विदा व्यवस्थाले पर्यटकको यात्राको ढाँचा नै फेरिएको छ । पहिले शुक्रबार शैलुङ घुमेर शनिबार कालिञ्चोक घुम्ने पर्यटक अहिले शनिबार शैलुङ घुमेर आइतबार कालिञ्चोक पुग्न थालेका छ । काठमाडौंसहित बाहिरी जिल्लाबाट आउने प्रायः सबै पर्यटकले एक दिन शैलुङ र एक दिन कालिन्चोकको प्याकेज नै बनाएर आउने गरेको कालिञ्चोक कुरिका होटल व्यवसायी चन्द्र तामाङले बताए ।
धेरै पर्यटकहरुले शैलुङ घुमेर कालिञ्चोक घुम्न आएको बताउने गरेको उनको भनाइ छ । काठमाडौंबाट नजिकका यी स्थलमा अहिले पर्यटकहरु प्याकेज नै बनाएर घुम्न आउने गरेको उनले बताए । तीन हजार ३ सय माथिको उचाइमा अवस्थित शैलुङ पर्यटक रमाउनको लागि सयौं थुम्काले घेरिएको छ । यहाँ बसन्त ऋतुमा फुलेको गुराँस, चिमाल र मानव निर्वित पर्यटकीय संरचना मिनि ग्रेटवालले पर्यटकलाई लोभ्याउने गरेको छ ।
त्यसैगरी समुद्री सतहदेखि तीनहजार ८ सय ४२ मिटर उचाइमा अवस्थित कालिञ्चोक क्षेत्र कालिञ्चोक भगवतीको मन्दिर रहेको स्थल हो । यस क्षेत्रमा पनि सदावहार पर्यटक आउने भए पनि नयाँ वर्ष र हिउँ परेको समयमा अत्याधिक पर्यटक भित्रिने गरेका छन् । ५० बढी सुविधा सम्पन्न होटल रहेको यस क्षेत्रमा दैनिक दुई हजार बढी पर्यटक पुग्ने गरेका छन् । वैशाख पहिलो सातामात्रै ४५ हजार बढी पर्यटकले कालिञ्चोक भ्रमण गरेको व्यवसायी तामाङले बताए ।
कालिञ्चोकमा दैनिक ८÷९ सय पर्यटक त्यहीँ बस्नेगरी पुग्ने गरेका छन् । धेरै पर्यटक शुक्रबार–शनिबार मुडे हुँदै शैलुङ पुग्ने र त्यहाँ घुमेर आइतबार कालिञ्चोक बासमा पुग्ने गरेका होटल व्यवसायीको भनाइ छ । पछिल्लो समय ट्राभल एजेन्सीहरूले दुईदिन विदाको अवसर पारेर शैलुङ र कालिन्चोकको कम्बो प्याकेज टुर सञ्चालन गर्न थालेका छन् । साथै दुई दिने विदाले जिल्लाका अन्य पर्यटकिय क्षेत्र भीमेश्वर मन्दिर, जिरी, हनुमन्तेमा समेत आन्तरिक पर्यटक बढेका छन् । कोरोनापछि सुस्ताएको दोलखाको पर्यटन क्षेत्र लयमा फर्किने संकेत देखिएको छ ।