गण्डकी । गण्डकी प्रदेश सरकारको सहयोगमा गण्डकी प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवनहरूको बिहीबार पोखरामा उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शान्ति सुरक्षासँगै विपद्मा सुरक्षाकर्मीले निर्वाह गरेको भूमिका प्रशंसनीय भएको बताएका छन् ।
उनले प्रहरी सङ्गठनले राज्य र नागरिकको सुरक्षाको गहन जिम्मेवारी बहन गर्दै आएको बताए । उनले हरेक घटनामा राज्यको प्रतिनिधिका रुपमा पहिलो उपस्थिति रहने सुरक्षा निकायलाई सरकारले साधन–स्रोत सम्पन्न र आधुनिक प्रविधिमा दक्ष बनाउन थप लगानी गर्नुपर्ने आवश्यकता औँल्याए ।
गण्डकी प्रदेश सरकारले संवैधानिक व्यवस्थाअनुसार आफ्नो दायित्व र कर्तव्यबोधका साथ २०७५ सालमा स्थापना भएको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रको भौतिक पूर्वाधार निर्माण प्रारम्भ गरेको उनले जानकारी दिए ।
नवनिर्मित कार्यालय प्रमुख तथा वरिष्ठ अधिकृत निवास, ब्यारेक, क्वाटर गार्ड, कार्यालय र मेस भवनको निर्माणसँगै प्रहरी संगठनको सीप, दक्षता र क्षमता थप सुदृढ हुने विश्वास व्यक्त गर्दै उनले भर्ना छनोट, आधारभूत तथा सेवाकालीन तालिम सञ्चालनमा यी संरचनाले महत्त्वपूर्ण सहयोग पुर्याउने बताए ।
“यो तालिम केन्द्रले समय सापेक्ष प्रशिक्षण प्रणालीमार्फत तालिमको गुणस्तर अभिवृद्धि गर्दै पेसागत ज्ञान, सीप र दक्षतायुक्त सक्षम प्रहरी जनशक्ति उत्पादन गर्नेछ भन्ने अपेक्षा राखेको छु”, उनले भने ।
सीमित साधन र स्रोतका बाबजुद पनि गण्डकी प्रदेश सरकारले शान्ति सुरक्षा र नागरिकप्रतिको दायित्वलाई उच्च प्राथमिकतामा राख्दै हरेक वर्ष करिब १५ करोड रुपैयाँभन्दा बढी बजेट सुरक्षा निकायका लागि विनियोजन गर्दै आएको उनले बताए । प्रदेश सरकार स्थापना भएयता गण्डकी प्रदेशमा निर्माण सुरु भएका ३५ प्रहरी युनिटका भवनमध्ये ३४ वटा निर्माण सम्पन्न भइसकेको र एउटा अन्तिम चरणमा रहेको मुख्यमन्त्रीले जानकारी गराए ।