काठमाडौं । कुख्यात भस्मासुर बिचौलिया दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरणमा छानबिन थालिएपछि भट्टको तावेदारी गर्ने सर्तमा भट्ट संरक्षित कम्पनीहरूमा गोल्डेन सेयर लिएका भाटहरूलाई कामज्वरो आउन थालेको छ । आफूबाहेक अरु कसैलाई राम्रो नदेख्ने र आफूलाई चाहिँ दूधले नुहाएको ठान्ने अर्थात् कम्बल ओडेर घ्यू खान पल्केकाहरूको यस पटक भट्टको पक्राउसँगै धोती खुस्किएको छ । भस्मासुर बिचौलिया भट्ट सम्बद्ध कम्पनीको सेयर लिएको र सम्पत्ति विवरणमा त्यसलाई लुकाएको प्रसङ्ग सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङले २७ दिनमै मन्त्री पदबाट हात धुनु परेकोे छ र गृहमन्त्रीबाट राजीनामा दिएलगत्तै पार्टी अध्यक्ष रवि लामिछानेलाई भेटेर उनले लडाइँ सुरु भएको चेतावनी दिएका छन् ।
निवर्तमान गृहमन्त्री गुरुङले पनि बिचौलिया भट्टले चन्द्र ढकालहरूलाई निषेध गरेर आफूसँग सम्बद्ध व्यक्तिहरूको नाममा सेयर बाँडफाँट गरेर माइक्रो इन्स्योरेन्सहरूमा बिचौलिया राज गरेजस्तै हालीमुहाली चलाएका थिए । भट्टले सत्ता र शक्तिको पहँुचको आधारमा बनाएको बिचौलिया राजमा ती सबै व्यक्ति भट्टको तलुवा चाट्न पुगेका थिए । तिनैमध्येको एउटा गिरोहले निवर्तमान गृहमन्त्री सुधन गुरुङलाई पनि भट्टको तीमध्येको दुईवटा कम्पनी स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको ५० हजार कित्ता सेयर दिलाएको थियो ।
सेयर गुरुङको नाममा भए पनि वास्तविकता अर्कै थियो, त्यो पक्ष अहिलेसम्म रहस्यको गर्भभित्रै छ । तर अहिलेसम्म निवर्तमान गृहमन्त्री गुरुङले कुख्यात भस्मासुर बिचौलिया भट्टसम्बद्ध कम्पनीको सेयर लिएको विषय मात्रै सर्वाधिक चर्चामा छ तर त्यसैगरी भट्टसम्बद्ध कम्पनीबाट सेयर लिने भाइहरूको सूचीचाहिँ निकै लामो रहेको छ । न्यायाधीशका बुहारीदेखि सचिवका स्वास्नीसम्मको नाम त्यहाँ भेटिन्छ । त्यसमा पनि पत्रकार र पत्रकारका श्रीमती तथा सहयोगी महिलाहरूको नाम जताततै भेटिन्छ । यसका अलावा भट्टको स्वार्थ जोडिएका कम्पनी दर्ता गराएका थिए ।
एमालेका अर्थमन्त्री विष्णु पौडेल, माओवादीका जनार्दन शर्माहरूको सहयोग र समर्थनमा तत्कालीन बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले अरु व्यापारीको प्रस्तावलाई रद्दीको टोकरीमा फालेर बिचौलिया भट्टको निवेदनअनुसार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, स्टार माइक्रो कम्पनी लिमिटेड, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दर्ता गराएका थिए । त्यसअघि हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेड दर्ता गराएका थिए ।
यी कम्पनी खोल्दा विभिन्न स्वार्थ समूहसँग जोडिएका व्यक्तिहरू जस्तो किः कर्मचारी, पत्रकार, न्याय क्षेत्रका व्यक्ति, प्रहरी प्रशासनका व्यक्ति र उनीहरूका श्रीमती, छोराछोरी, आसेपासे वा गल्र्डफ्रेन्डहरूका नाममा गिफ्ट सेयर अर्थात् स्वेट सेयर दिएर अरु व्यक्तिका साथै उनीहरूका घरपरिवार र आफन्तका नाममा पनि सेयर रहेको भेटिन्छ ।
ती सेयर भट्टले गिफ्टमा दिएको हो कि उनीहरूलाई किन्न लगाएको हो यकिन छैन तर जनमानसमा चाहिँ भट्टले उनीहरूलाई स्वेट सेयर दिएको छाप परेको छ । केही व्यक्तिले लोग्नेस्वास्नीको सँगै गर्लफ्रेन्डको नामा समेत सेयर पाएको भेटिएको छ । त्यसरी ती आठवटा कम्पनीबाट सेयर पाउने सबै शंकास्पद व्यक्तिहरूको नामावली एकत्रित रूपमा सार्वजनिक त भएको छैन तर फुटकर रूपमा सार्वजनिक हुँदा पनि भट्टका भाइहरूलाई कामज्वरो छुट्न थालेको छ ।
भट्टले आफ्नै साझेदारहरूलाई अलग्याएर कम्पनीमा आफ्नो एकल नाम राखेका थिए । त्यसकारण उपेन्द्र हिरावत, अभिषेक आनन्द, शंकर श्रेष्ठ र पुजन रेग्मी यस विषयको सम्पत्ति शुद्धीकरणमा छिर्ने सम्भावना कम रहेको छ । एउटा कुख्यात डनका अवैध श्रीमतीको हाँकोडाँकोमा चलेको सम्पति शुद्धीकरण विभागका महानिर्देशक गजेन्द्र ठाकुरकी श्रीमती समेत बिचौलिया भट्टको एउटा कम्पनीमा जोडिएको देखिएको छ । ती आठवटा कम्पनीमा जोडिएका व्यक्तिहरूको कालोधनको बारेमा अहिलेसम्म छानबिन सुरु भएको छैन । भट्ट पक्राउ पर्दैमा भट्टका ती भाटहरूलाई कामज्वरो छुट्न थालेको छ । भट्टसँगै उसका कम्पनीका ती सबै सेयर होल्डरहरूको सम्पत्ति छानबिन सुरु भएपछि कसैले आत्महत्या गरेको सुन्न नपरोस्, त्यही शुभकामना छ । तर अहिलेका लागि भट्टको भाटगिरी गर्ने नाममा भट्टको कम्पनीका सेयर नपाउने सूचीमा परेका नालायक पत्रकारहरूले चाहिँ अहिलेजस्तो नगरी भिराइए पनि भट्टसँगै पोलिएर मर्नुपर्ने अवस्थाचाहिँ आउने छैन । तर भट्टका भाटहरूको असलियत त्यतिबेला सबै खुलेपछि अनि हेर्न मजा आउनेछ ।