काठमाडौं । वालेन्द्र (बालेन) शाह नेतृत्वको रास्वपाको सरकारलाई अमेरिकालगायत पश्चिमा शक्तिले बनाएको भन्ने प्रचार छ । नभन्दै गत भदौ २३ र २४ गतेपछि बनेको सैनिक छायाँ परेको सुशीला कार्की नेतृत्वको सरकारदेखि निर्वाचनपछि गठन भएको बालेन सरकारसमेतसँग चीनको राम्रो सम्बन्ध देखिँदैन । त्यसले पनि पश्चिमका सरकार भन्ने आरोपको अहिलेसम्म सार्वजनिक रुपमा खन्डन हुन सकेको छैन ।
उत्तरी शक्तिशाली छिमेकी देश चीनसँगको सम्बन्ध राम्रो बनाउने सरकारी प्रयास भने जारी छ । तर, ती प्रयास अहिलेसम्म निरर्थक नै छन् । बालेनको नेतृत्वमा नयाँ सरकार बनेको एक महिना बित्न लागिसक्दा पनि चीनको तर्फबाट औपचारिकता निभाउनेबाहेक केही भएको छैन । चीन र नेपालबीच बिगतको जस्तो राम्रो सम्बन्ध नभएकै बेला नेपालका लागि चिनियाँ नयाँ राजदूत जीयाङ माओमिङको नेपाल आवागमनको अवसरमा बुधबार काठमाडौंको होटल याक एण्ड यतिमा आयोजना गरिएको ‘भ्वाईस अफ स्प्रिङ’ नामको औपचारिक रिसेप्सन तथा सांस्कृतिक कार्यक्रममा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चिनियाँ राजदूतलाई अस्वभाविक रुपमा अंगाले हालेर नजिक छु र नजिक हुनुपर्छ भन्ने सन्देश दिन प्रयास गरेका छन् ।
अर्थमन्त्री वाग्लेको प्रयासले के काम गर्छ हेर्न बाँकी छ । तर, वर्तमान सरकार चीनप्रति सकारात्मक छैन र चीन पनि खुलेर सकारात्मक छैन भन्ने देखिँदै गएको छ । चीनको उक्त औपचारिक राजनीतिक÷कूटनीतिक समारोहमा कूटनीतिज्ञ, सरकारी अधिकारीहरु र विशेष अतिथिहरुको सहभागिता भने राम्रै थियो । कूटनीतिक प्रयास गरेर चीनसँग नजिक हुन नसकेपछि नजिक छौँ भन्ने नाटक स्वरुप अर्थमन्त्री वाग्लेले अंगालो हालेको देखिएको छ ।