काठमाडौं । जेनजी आन्दोलनबाट उदाएका सुधन गुरुङ आन्दोलनपछि सरकार बन्ने नबन्ने परिस्थितिमा समेत चर्चा कमाउन सफल भएका व्यक्ति हुन् । गुरुङ आर्मीको मुख्यालयमा हुने छलफलदेखि लिएर प्रतिनिधिसभा निर्वाचनपछि बनेको सरकारमा समेत निरन्तर चर्चा पाउन सफल भए । निर्वाचनपछि वालेन्द्र शाह नेतृत्वको सरकारमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै त्यतिबेला दाबेदार मानिएका डोलप्रसाद अर्याल र सुनिल लम्साललाई उछिन्दै गृहमन्त्री बने । उनले पदमा बस्नुअघि र पछि भ्रष्टाचारीहरूलाई नछाड्ने बताएका थिए । भ्रष्टाचारको बारेमा पदमा बस्नुअघि उनले भनेका थिए, ‘हरेक भ्रष्टाचारीको घरबाट एक–एक रुपैयाँ निकाल्छु, तिनीहरूलाई तान्छु, ल्याउँछु, देखाउँछु । संसारले थाहा पाउँछ, नेपाल कसरी परिवर्तन हुन्छ ।’
गुरुङ चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए । गृहमन्त्रीको जिम्मेवारी पाएपछि पहिलो पटक सञ्चारकर्मीसँग ३ वैशाखमा कुरा गर्दासमेत उनले कसैलाई नछाड्ने दोहो¥याए । ‘आफ्नै बुबालाई पनि छाड्दिनँ, मेरो देशको कसम खान्छु’, उनले भनेका थिए । मन्त्री गुरुङले आफ्नो भनाइअनुरूप काम गरे भने सोहीअनुरूप उच्च तहका व्यक्तिहरूलाई अनुसन्धानको घेरामा ल्याए । १९ चैतमा आर्थिक गतिविधिमा गैरकानुनी काम गर्ने भनेर विवादित बनेको व्यवसायी दीपक भट्टलाई पक्राउ गरियो । यसमा गृहमन्त्री गुरुङको निर्देशनअनुरूप नै विवादित व्यवसायी भट्टलाई पक्राउ गरिएको थियो । भट्टलाई सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएको हो । हाल उनी हिरासतमा रहेका छन् । १९ चैतमा काठमाडौंको नक्सालबाट पक्राउ गरिएको भट्टलाई हिरासतमा राखिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले बताए ।
विवादास्पद भट्टलाई साथ दिएका कारण मुलुकका उद्योग तथा व्यवसायीहरू समेत पक्राउ परेका छन् । गुरुङले सम्पत्ति शुद्धीकरण मुद्दामा भट्टसँग साझेदार रहेका शंकर अग्रवाललाई समेत पक्राउ गर्न निर्देशन दिएका थिए । २१ चैतमा शंकर अग्रवाललाई सीआईबीले पक्राउ गरे पनि पछि उनी छुटिसकेका छन् । उनी छुटे पनि अग्रवालकै छोरा तथा शंकर गुप्रका अर्को व्यक्ति सुलभ अग्रवाललाई पनि प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । बिहीबार मात्रै यही प्रकरणमा चर्चित व्यवसायी शेखर गोल्छा पनि पक्राउ परेका छन् । गुरुङ मन्त्री पदमा हुँदा नै गोल्छालाई पक्राउ गर्ने तयारी भए पनि त्यो सम्भव हुन सकेन । गुरुङले उच्च अधिकारीहरूलाई पक्राउ गर्ने योजना नै बनाएका थिए । उच्च अधिकारी पक्राउ गर्ने उद्देश्यले नै नेपाल धितोपत्र बोर्ड (सोबोन)को प्रतिवेदन सार्वजनिक गरिएको मन्त्रालय स्रोतको भनाइ छ । बोर्डले सार्वजनिक गरेको प्रतिवेदनअनुरूप सेयर कारोबारमा गैरकानुनी काम गरेको आरोपमा भट्टका साथै, सुलभ अग्रवाल, सुलभ अग्रवालकी श्रीमती शुभी अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता, व्यवसायी सन्दीप चाचान, जावलाखेल ग्रुपका प्रबन्ध निर्देशक राजबहादुर शाह, व्यवसायी ऋषिराज मोर गैरकानुनी सेयर कारोबार खरिदबिक्रीमा संलग्न भेटिएको छ । उनीहरूले हिमालयन रि–इन्स्योरेन्सको सेयर खरिदबिक्रीमा गैरकानुनी तवरमा सेयर खरिदबिक्री गरेको आरोप लागेको छ ।
२९ चैतमा प्रधानमन्त्री वालेन्द्र शाह र मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भयो । प्रधानमन्त्री शाह र मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भएसँगै उनीहरूको सम्पत्ति स्रोत खुलाउन दबाब प¥यो । सार्वजनिक गरिएको सम्पत्ति स्रोतअनुसार गुरुङ धनी देखिए उनलाई चौतर्फी रूपमा सम्पत्ति स्रोत खुलाउन दबाब प¥यो । भ्रष्टाचार र सुशासनमा हिँड्न नारा बोकेको कारण उनको म्पत्तिको स्रोत खुलाउन दबाब परेको थियो । उनले सम्पत्ति विवरण सार्वजनिक गर्दा आवश्यक मात्रामा सुन, चाँदी, नगद मौज्दात र सेयर रहेको उल्लेख गरेका थिए । गुरुङले लक्ष्मी सनराइजमा पाँच लाख ३५ हजार चार सय, नबिलमा ५६ लाख २५ हजार नौ सय ७६ रुपैयाँ र सानिमा बैंकमा एक हजार पाँच सय ७४ नगद मौज्दात रहेको उल्लेख गरेका छन् । उनले होप होल्डिङसको ३० लाख, लगुम प्रिपियम आपर्टमेन्टसको ५७ लाख, एडभेन्चर भिल्लाको ७० लाख र दुई करोड ७४ लाख ५६ हजार दुई सयबराबरको सेयर रहेको विवरण सार्वजनिक गरेका थिए । साथै उनीसँग स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोको २५÷२५ लाख सेयर लगानी गरेका धितोपत्र बजारमा कारोबार हुने सेयरहरू दुई करोड बढी को सम्पत्ति रहेको उल्लेख गरेका थिए । उनलाई उक्त सेयर लुकाइएको आरोप समेत लागेको थियो । उक्त सेयरको सम्पत्ति स्रोत खुलाउन नसक्दा गुरुङमाथि नैतिक र कानुनी प्रश्न उठेको थियो । उक्त दुई कम्पनी शंकर अग्रवाल र दीपक भट्टको समूहले स्थापना गरेका थिए ।
नेपाली कांग्रेस, एमालेलगायतका विभिन्न दलले सम्पत्तिका साथै सेयर लगानीमा प्रश्न उठाएपछि गुरुङले त्यसको जवाफ समेत दिए । ‘२५ लाखको सेयर लुकाइएको भनिएको छ । वास्तविकता के हो भने सबै सेयर एउटै प्रकृतिका हुँदैनन् । मैले धितोपत्र बजारमा कारोबार हुने सेयरहरू भनेर दुई करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको छु, जुन जो–कोहीले मन्त्रिपरिषद्को वेबसाइटमा हेर्न सक्नुहुन्छ । स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा भएको लगानी पनि यही समूहभित्र समेटिएको हो । यो लुकाउने होइन, वर्गीकरणको विषय हो । सीधा कुरा, लुकाउने मान्छेले खुला रूपमा दुई करोडभन्दा बढी सम्पत्ति देखाउँदैन’, गुरुङको जवाफ थियो । ‘मन्त्री हुनुअघि सेयर किनियो भनिएको छ । यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो ? उनले उल्टै प्रश्न गर्दै सम्पूर्ण कारोबार बैंकिङ च्यानलमार्फत भएको स्पष्ट समेत पारे । विवादित व्यक्तिसँग साझेदारी रहेको भन्ने आरोपप्रति प्रतिक्रिया दिँदै गुरुङले एउटै कम्पनीमा धेरै सेयरधनी हुने भएकाले त्यसलाई साझेदारीको रूपमा व्याख्या गर्नु गलत भएको तर्क गरेका छन् । उनले बैंक, सञ्चार संस्थालगायत विभिन्न क्षेत्रका लगानीकर्ताहरू पनि ती कम्पनीमा संलग्न रहेको उल्लेख गरेका छन् ।
कन्फ्लिक्ट अफ इन्ट्रेस्टसम्बन्धी प्रश्नबारे उनले सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन अर्थ मन्त्रालयअन्तर्गतको सम्बन्धित निकायमार्फत भइरहेको भन्दै गृह मन्त्रालयको कुनै हस्तक्षेप नरहेको स्पष्ट पारे । उनले प्रक्रिया स्वतन्त्र रूपमा अघि बढिरहेको उनले बताए । लगानी र समयबारे उठेका प्रश्नहरूको जवाफमा उनले व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पूर्वानुमान गर्न नसकिने भएकाले पछिल्ला घटनालाई आधार बनाएर पूर्वनिर्णयलाई दोष दिनु उचित नहुने बताए ।प्रतिक्रिया ढिलो आएको भन्ने आलोचनाबारे उनले संवेदनशील कानुनी विषयमा हतारमा प्रतिक्रिया दिनु उपयुक्त नहुने भन्दै तथ्य र प्रमाणका आधारमा मात्र बोल्न आवश्यक रहेको स्पष्ट पारे । गुरुङले आरोप र सत्य फरक विषय भएको उल्लेख गर्दै सबै निर्णय प्रमाणका आधारमा हुनुपर्ने बताएका छन् । उनले अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै पार्टीले गर्ने निर्णयलाई पनि स्वीकार गर्ने बताएका छन् ।
गुरुङको जवाफ सुशासनको लागि सही नभएको निष्कर्ष रास्वपा र प्रधानमन्त्री शाहले निकालेका हुन् । पार्टी र प्रधानमन्त्री शाहले हालको परिस्थितिमा गुरुङको राजीनामा सही हुने प्रतिक्रिया दिए । बुधबार गुरुङले पदबाट राजीनामा दिए । उनले राजीनामा दिएको जानकारी दिँदै आफ्नो विषयमा निष्पक्ष छानबिन हुन समेत माग गरेका हुन् । ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘स्वार्थको द्वन्द्व’ नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मिति (बुधबार)देखि लागू हुनेगरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु’, उनले लेखेका छन्, ‘मैले आफ्नोतर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु । अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ ।’गुरुङले स्थायी लेखा नम्बर लिएको १२ वर्षसम्म कर नतिरेको विषय समेत मिडियामार्फत सार्वजनिक भएको छ । गुरुङको प्यान नम्बर ६०१४६७१४७ रहेको छ भने २०७० साउन १ देखि आज २०८३ बैशाख ९ गतेसम्म हेर्दा उनले कुनै कर बुझाएका छैनन् ।