काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बिहीबार प्राधिकरणको आयोजनामा बीमकको आन्तरिक लेखा परीक्षणसम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्राधिकरणले जारी गरेको बीमकको आन्तरिक लेखा परीक्षण निर्देशिका, २०७९ लाई समयसापेक्ष परिमार्जन गर्न लागिएको सन्दर्भमा सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले समग्र बीमा क्षेत्रको जोखिम पहिचान न्यूनीकरण गर्नका लागि बीमकको आन्तरिक लेखा परीक्षणलाई अझ बढी व्यवस्थित, व्यावसायिक र परिष्कृत गर्नु आवश्यक भएको बताए । कार्यकारी निर्देशक सुवेदीले बीमकको आन्तरिक लेखा परीक्षण निर्देशिका परिमार्जन गर्दा समावेश गर्नुपर्ने विषयहरू र विद्यमान कमी कमजोरीलाई हटाउन गर्नुपर्ने कार्यलगायत समग्र विषयमा राय सुझावहरू दिन आग्रह गरे । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गोकुल राज दाहालले प्राधिकरणले परिमार्जन गर्न लागेको बीमकको आन्तरिक लेखा परीक्षण निर्देशिकाको मस्यौदामा प्रस्ताव गरिएका विषयवस्तुहरू सम्बन्धी प्रस्तुती गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले बीमकको आन्तरिक लेखा परीक्षण निर्देशिकाको मस्यौदामा भएका रिक्स रेटिङ, ब्रान्च अडिट कभरेज, स्याम्पल साइज, इन्टरनल अडिट फङसन र इन्टरनल अडिट रिर्पोटिङ रिक्वायरमेन्टका सम्बन्धमा राय सुझावहरू दिएका थिए । नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जनले कार्यक्रमबाट प्राप्त राय सुझावहरूलाई समेत समेटेर निर्देशिकालाई अन्तिम रूप दिने बताए ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल अधिकारी र निर्देशक शाम्भ राज लामिछाने उपस्थित रहेका थिए । यसैगरी, कार्यक्रममा बीमकका आन्तरिक लेखापरीक्षण शाखाका प्रमुख र आन्तरिक लेखा परीक्षकहरूको सहभागिता रहेको थियो ।