काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीको आह्वान गरेको छ । बैंकका अनुसार संस्थापक सेयरधनी रविन्द्रमान सिंह प्रधानको स्वामित्वमा रहेको १४ लाख ४४ हजार ८४ दशमलव ९३ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीको आह्वान गरिएको हो ।
बैंकका अनुसार यो सेयरको प्रतिकित्ता न्यूनतम मूल्य एक सय छ रुपैयाँ तोकेर सर्वसाधारणका लागि बिक्री प्रक्रिया अघि बढाएको हो । संस्थापक सेयर खरिद–बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक समूहकै अन्य सेयरधनीलाई दिनुपर्ने प्रावधानअनुसार यसअघि सूचना प्रकाशित गरिएको थियो । तर तोकिएको अवधि (३५ दिन) भित्र कुनै पनि संस्थापक सेयरधनीबाट उक्त सेयर खरिदका लागि आवेदन नपरेपछि अब सर्वसाधारण व्यक्ति वा संस्थाले खरीद गर्न पाउने गरी पुनः सेयर बिक्रीमा राखिएको हो । इच्छुक योग्य व्यक्ति वा संस्थाले सूचना प्रकाशित भएको मिति (वैशाख ७ गते) ले ३५ दिनभित्र काठमाडौंको नारायणहिटीपथ स्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।