काठमाडौं । शाओमीले नेपाली बजारमा आफ्नो नयाँ रेडमी बड्स ८ एक्टिभ सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो बड्स दैनिक प्रयोगका लागि आरामदायी, सानो र हल्का डिजाइनको रहेको छ ।
रेडमी बड्स ८ एक्टिभमा कानको प्राकृतिक बनावटसँग मिल्ने इन–इयर कर्भ डिजाइन प्रयोग गरिएको छ, यसले लामो समय प्रयोग गर्दा पनि दबाब कम हुने भएकोले असहज हुँदैन । यसको हल्का बनावटले गर्दा दैनिक प्रयोगमा सजिलो, सुरक्षित र समाउन/बोक्न पनि सजिलो छ । यी बड्सले एक पटक चार्ज गर्दा बढिमा ७ घण्टा र चार्जिङ केससहित ३७ घण्टासम्म प्रयोग गर्न सकिन्छ । १० मिनेटको छिटो चार्जले करिब २ घण्टा प्रयोग गर्न मिल्ने ब्याट्री दिन्छ । सुधारिएको ब्याट्री क्षमताका कारण बारम्बार चार्ज गर्नुपर्ने आवश्यकता पनि हुँदैन । राम्रो साउण्डका लागि बनाइएका यी इयरबड्समा ठूलो टाइटानियमयुक्त ड्राइभर राखिएको छ । यो टाइटानियम कोटिङ भएको डायाफ्रामले मध्यम र उच्च फ्रिक्वेन्सीमा स्पष्ट र राम्रो साउण्ड दिन्छ । एएसी कोडेकले अडियो डेटा कम्प्रेस गर्दा पनि आवाजको विवरण जोगाएर राख्छ ।
प्रयोगकर्ताले डुअल माइक्रोफोन र एआई एल्गोरिदमको सहयोगले अझ स्पस्ट आवाज सुन्न र बोल्न सक्नेछन । यसको प्रयोगले वरपरको आवाजलाई कम गरी कललाई स्पष्ट बनाउँछ ।