काठमाडौँ । देशका विभिन्न भागबाट नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको बेदकोट नगरपालिका–७ का २० वर्षीय अरूण चौधरीलाई चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट पक्राउ गरिएको हो ।
यसैगरी, चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने विभिन्न औषधिसहित ४७ वर्षीय दीपक श्रेष्ठलाई चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट पक्राउ गरिएको छ ।
कैलालीको गोदावरी नगरपालिका–४ गोदावरीस्थित डिएन रूद्र प्लाजा होटलबाट चार जना, मोरङको उर्लाबारी नगरपालिका–९ का बलबहादुर श्रेष्ठलाई निजकै घरबाट, धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्का मुक्त कमैया टोलबाट दुई र टीकापुर नगरपालिका–१ बाट दुई जनालाई खैरो हेरोइन र डिजिटल तराजुसहित पक्राउ गरिएको छ ।
२७ किलोग्राम गाँजासहित उदयपुरको बेलका नगरपालिका–८ कोठुबाट सोही नगरपालिका–८ माजटोलका २५ वर्षीय अशोक राईलाई पक्राउ गरिएको छ ।