कास्की । पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणका क्रममा शुक्रबार अपराह्न पोखरा आइपुगेका छन् । उनी पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिँदा उनका समर्थकहरूले विमानस्थलमा स्वागत गरेका छन् । राजतन्त्र समर्थकहरूले राष्ट्रिय झन्डा हातमा लिएर उनको स्वागत गरेका हुन् ।
विमानस्थल परिसरमा बाजागाजासहित पूर्वराजाको स्वागत गरिएको थियो । समर्थकहरूले पोखरामा पूर्वराजाको स्वागत र भ्रमण व्यवस्थापनका लागि भ्रमण व्यवस्थापन समिति बनाएका छन् ।
भ्रमण व्यवस्थापन समितिका सदस्य अर्जुन खनालले पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा उनी एक महिना बस्ने जानकारी दिए । उनका अनुसार पोखरा बसाइका क्रममा पूर्वराजाले गण्डकी प्रदेशका विभिन्न धार्मिकस्थलको भ्रमण गर्नुका साथै विभिन्न व्यक्तिहरूसँग भेटघाटसमेत गर्ने तालिका रहेका भ्रमण व्यवस्थापन समितिले जनाएको छ ।