काठमाडौँ , नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रबन्ध सञ्चालक तथा कार्यकारी प्रमुख प्रवीण पन्दाकलाई फिर्ता बोलाएको छ।शुक्रबार बसेको नेप्से सञ्चालक समितिको बैठकले उनलाई सीडीएससीको जिम्मेवारीबाट हटाउँदै पुनः नेप्सेमै फिर्ता बोलाउने निर्णय गरेको एक सञ्चालकले जानकारी दिएका छन्। सो निर्णयसँगै सीडीएससीमा नयाँ प्रतिनिधि पठाउने तयारी नेप्सेले गरेको छ। सीडीएससीमा २०८१ भदौ ७ गते तत्कालीन प्रमुख पूर्णप्रसाद आचार्यको कार्यकाल सकिएपछि पद रिक्त भएको थियो। त्यसपछि चार महिनापछि २०८१ पुस १४ गते प्रवीण पन्दाकलाई कार्यकारी प्रमुखमा नियुक्त गरिएको थियो। पन्दाकको नियुक्ति सुरुदेखि नै विवादित रहँदै आएको थियो। पछिल्लो समय उनीमाथि इन्टरनेशनल सेक्युरिटिज आइडेन्टिफिकेशन नम्बर (आईजिन) सम्बन्धी प्रक्रियामा विवाद उत्पन्न गराएको आरोपसमेत लाग्दै आएको छ।