काठमाडौँ , नेपाली सेनाले सेना तथा सेनापतिबारे सामाजिक सञ्जाल र सञ्चारमाध्यममा फैलाइएका तथ्यहीन अभिव्यक्ति तथा सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।जंगी अड्डाले जारी गरेको विज्ञप्तिमा पछिल्लो समय विभिन्न माध्यममार्फत नेपाली सेना र नेतृत्वलाई जोडेर फैलाइएका कपोलकल्पित तथा भ्रामक समाचारहरूले आम नागरिकमा भ्रम र त्रास फैलाउने भएकाले यस्ता सामग्री प्रसार नगर्न तथा नगराउन आग्रह गरिएको छ।
सेनाले यस्ता अराजक गतिविधि र अवैध क्रियाकलापको नियमित निगरानी भइरहेको उल्लेख गर्दै यस्ता कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याइने चेतावनी दिएको छ।विज्ञप्तिमा आम नागरिकलाई आधारहीन तथा द्वेषपूर्ण समाचारमा विश्वास नगर्न आग्रह गर्दै आधिकारिक सूचनाका लागि नेपाली सेनाको प्रेस विज्ञप्ति, आधिकारिक सामाजिक सञ्जाल र वेबसाइटमा प्रकाशित सूचनामात्र विश्वास गर्न अनुरोध गरिएको छ।
