काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा शनिबार बिहानदेखि डोजर प्रयोग गरिएको छ। बिहान साढे ८ बजेदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गर्दै संरचना भत्काउन सुरु गरिएको हो।स्थानीय प्रशासनका अनुसार हालसम्म कुनै किसिमको अवरोध वा प्रदर्शन देखिएको छैन। शुक्रबार भने सोही क्षेत्रमा सुकुम्बासीको नाममा विरोध प्रदर्शन भएका थिए। डोजर चलाउनु अघि बस्तीका बासिन्दाले आफ्ना सामान सुरक्षित स्थानतर्फ सारिसकेका छन्। सामान हटाइएका क्षेत्रमा अहिले संरचना भत्काउने काम तीव्र रूपमा अघि बढाइएको छ।सरकारले भने वास्तविक सुकुम्बासीलाई अस्थायी रूपमा व्यवस्थापन गर्न पाँच स्थान तोकिएको जनाएको छ। प्रभावित परिवारलाई ती स्थानमा स्थानान्तरण गर्ने तयारी भइरहेको सम्बन्धित निकायले जानकारी दिएको छ। यस कार्यले दीर्घकालीन सुकुम्बासी समस्या समाधानतर्फ सरकार अघि बढेको संकेत गरे पनि प्रभावित समुदायको पुनर्स्थापना कसरी हुन्छ भन्ने विषय अझै महत्वपूर्ण बनेको छ।