विश्वराज पोखरेल ले आफ्नै अभिव्यक्तिका कारण उत्पन्न विवादपछि माफी मागेका छन्।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद समेत रहेका पोखरेल ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधि हुन्। गृह जिल्ला ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा भएको एक कार्यक्रममा प्राध्यापकले स्वागत गर्न नआएको भन्दै उनी आक्रोशित बनेका थिए। उक्त घटनासम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको अभिव्यक्तिमाथि व्यापक आलोचना भएको थियो।
विवाद चर्किएपछि पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै स्पष्टीकरण दिएका छन्। उनले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो पूर्ण यथार्थ नभएको दाबी गरेका छन्।उनले भनेका छन्, “यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काटछाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको छ।”
उनका अनुसार कहिलेकाहीँ सम्पूर्ण सन्दर्भ प्रस्तुत नहुँदा सीमित दृश्यहरूले गलत सन्देश दिन सक्छन्, जसले विवाद निम्त्याउने गरेको छ।यद्यपि, उनले सार्वजनिक जीवनमा आफ्नो बोली र व्यवहार अझ संयमित हुनुपर्ने स्वीकार गरेका छन्। “यदि कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए पनि मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपर्थ्यो,” उनले उल्लेख गरेका छन्। पोखरेलले उक्त घटनाबाट उत्पन्न विवादप्रति खेद प्रकट गर्दै भविष्यमा आफ्नो अभिव्यक्तिमा थप सावधानी अपनाउने प्रतिबद्धता जनाएका छन्।
