काठमाडौं, प्रहरीले पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) प्रणालीमा अनधिकृत हस्तक्षेप गरी ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको भन्दै पूर्वमन्त्री एवं निर्माण व्यवसायी पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रहरीले पक्राउ गरेको हो ।काठमाडौंको चन्डोलबाट नियन्त्रणमा लिएको ब्युरोका प्रवक्ता शिव कुमार श्रेष्ठले बताए । सार्वजनिक खरिद अनुगमन कार्यालय प्रणालीमा अनधिकृत पहुँच पु¥याएको आरोपमा पाण्डेलाई नियन्त्रणमा लिएको र अनुसन्धानका अघि बढाउने प्रक्रियामा रहेको श्रेष्ठले बताए । सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्काको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको प्रतिवेदन परिवर्तन गर्ने काम गरेको पाण्डेमाथि आरोप रहेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्काको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको प्रतिवेदन परिवर्तन गरेको उजुरी परेसँगै सीआईबीले उनलाई नियन्त्रणमा लिन खोजेको थियो । उजुरी आएसँगै हामीले आन्तरिक अध्ययन तथा अनुसन्धान गरी पाण्डेलाई पक्राउ गर्ने निचोडमा पुगेको सीआईबीका अधिकारीको भनाइ छ ।
राप्रपाका उपाध्यक्ष पाण्डे कालिका कन्स्ट्रक्सनका प्रमुख हुन् । यसअघि २०७५ मा सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको आरोप पाण्डेमाथि लागेको छ । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवका सिक्टा सिँचाइ आयोजनाको मूल नहर भत्किएपछि डिजाइनमा नै त्रुटि गरेको तथा निर्माणका क्रममा गुणस्तरीय काम नगरेको भन्ने आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेमाथि मुद्दा चलाएको थियो । सो अरोपमा अख्तियारले पाण्डेसहित २१ जनामाथि मुद्दा दायर गरेको थियो । विशेष अदालतले कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डेसहित २१ जनालाई उक्त मुद्दामा सफाइ दिएको थियो । अख्तियारले पाण्डेसहित २१ जना २१ जनालाई सफाइ दिने निर्णय बदर हुनुपर्ने माग सर्वोच्चमा पुनरावेदन दर्ता गराएको छ । पाण्डेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनाको ठेक्का लिएको र काम सम्पन्न गरेको थियो ।
सीआईबीले पाण्डेसहित अर्का निर्माण व्यवसायी टंककुमार श्रेष्ठलाई समेत पक्राउ गरेको छ । सीआईबीले श्रेष्ठलाई काठमाडौं सामाखुसीबाट पक्राउ गरेको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्काको आर्थिक प्रस्ताव खोल्नुभन्दा अघि दुई जनालाई फाइदा हुने गरी आफ्नो प्रस्ताव राख्ने गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । ठेक्काको आर्थिक प्रस्ताव खोल्नुभन्दा अघि पाण्डे र श्रेष्ठले आफूलाई फाइदा हुनेगरी प्रतिवेदन परिवर्तन गर्नेगरेको अनुसन्धान अधिकृतहरूले बताएका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्काको आर्थिक प्रस्ताव खोल्नुभन्दा अघि प्रणाली पहुँच पुर¥याएका आफूलाई फाइदा पुग्न काम पाण्डे र श्रेष्ठले गर्नेगरेको आरोपलाई थप अनुसन्धान गरिएको अनुसन्धान अधिकृतहरूको भनाइ छ ।
यसअघि पनि सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनधिकृत पहुँच पु¥याएको आरोपमा प्रहरीले छ जना फक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा दिवाकर देउजा, भरत धामी, सञ्जय भट्ट, भाष्करराज अर्याल, सागर कटुवाल, जीवनकुमार दास रहेका थिए । उनीहरूलाई प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो र सीआईबीको टोलीले पक्राउ गरेको थियो हो । उक्त छ जना व्यक्तिहरूले पनि सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनाधिकृत पहुँच पु¥याई ठेक्काको विवरण परिवर्तन गरेको अरोप रहेको थियो । उनीहरूमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत पहुँच पु¥याई विभिन्न ठेक्काको विवरण हेरफेर गर्ने र आफू तथा आफूनिकटका निर्माण व्यवसायीलाई फाइदा पु¥याएको आरोप रहेको थियो ।उनीहरूमाथि संगठित अपराध निवारण ऐन २०७० अन्तर्गत कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो । निर्माण व्यवसायीले व्यक्तिगत फाइदा र सरकारी प्रणाली कमजोर हुँदा सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीसम्म अनाधिकृत पहुँच पुग्ने गरेको जानकार बताउछन् । सरकारले उक्त प्रणालीलाई अझै भरपर्दो र सुरक्षित बनाउन आवश्यक रहेको जानकार बताउँछन् ।