काठमाडौं , एक अर्ब भन्दा बढी लगानीमा पोखरामा सञ्चालित चारतारे हेरिटेज होटल एन्ड स्वीट्स प्रालि बैंकको साँवा ब्याज तिर्न नसकेर लिलामीमा जान लागेको छ । आठ वर्ष पुरानो हेरिटेज होटलले पोखराका दुई वाणिज्य बैंकबाट लिएको ऋण तिर्न नसकेपछि बैंकले लिलामी प्रक्रिय अगाडि बढाएको हो । पर्यटन व्यवसायी रविचन्द्र हमालले एक अर्ब रुपैयाँ लगानीमा उक्त होटल बनाएका थिए भने २०७५ असोज ३० देखि औपचारिक रुपमा होटल सञ्चालनमा आएको थियो । होटलले कर्जा सम्झौताबमोजिम तिर्न बुझाउन पर्ने किस्ता पटक–पटक मौखिक तथा लिखित ताकेता र सार्वजनिक सूचना प्रकाशित गर्दासमेत पूर्ण बेवास्ता गरी कर्जा चुत्ता गर्नेतर्फ पहल नगरेसँगै लिलामी प्रक्रिया अगाडि बढाएको बैंकले बताएको छ ।
यसअघि बैंकले सात दिनभित्र साँवा, ब्याज र उक्त रकममा लाग्ने हर्जनालगायतका अन्य दस्तुरसमेत तिर्न ‘अल्टिमेटम’ दिएको थियो । ऋण असूल गर्न होटलले कर्जाको सुरक्षणको रुपमा धितोबन्धक लेखिदिएका मकवानपुर शिखरकोट र पोखरामा रहेको चल अचल सम्पत्ति बिक्रीका लागि प्रस्ताव मागेको छ ।सम्पत्ति लिलाम बिक्री नभए अन्य व्यवस्था गरी बेचविखन गर्नसक्ने वा प्रचलित कानुनबमोजिम बैकले सकार गरी लिनसक्ने र उक्त सम्पत्तिबाट बैंकको सम्पूर्ण बक्यौता रकम असुल नभएमा प्रचलित कानुनबमोजिम असुलउपर गर्न आवश्यक कारबाही अघि बढाइने बैंकले जानकारी दिएको छ ।