काठमाडौं । नयाँ सरकार गठनसँगै मुलुकमा राजनीतिक स्थिरता कायम भई लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिए पनि पछिल्लो समय उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड र थुनछेकका घटनाले निजी क्षेत्र निरुत्साहित बनेको छ ।
निजी क्षेत्रका प्रमुख संस्थाहरूले उद्यमी व्यवसायीमाथी अनाश्यक रुपमा गरिएको धरपकड र थुनछेकले अर्थतन्त्रमा गम्भीर असर पर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई केन्द्रिय अनुसन्धान व्युरो (सीआईवी)ले पक्राउ गरेपछि निजी क्षेत्रले असन्तुष्टी जनाएका हुन् । विवादीत व्यवसायी दीपक भट्टको साझेदार भएको पाइएपछि सीआईवीले गोल्छालाई पक्राउ गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले जारी गरेको संयुक्त विज्ञेप्तीमा अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पु¥याउँदै आएको निजी क्षेत्रलाई त्रसित बनाउने गतिविधिहरूले समग्र आर्थिक प्रणालीमै नकारात्मक प्रभाव पार्ने उल्लेख गरिएको छ । यस्ता घटनाले रोजगारी, राजस्व संकलन, आपूर्ति श्रृंखला र पूर्वाधार विकासमा समेत गम्भीर असर पर्ने उनीहरूको भनाइ छ । नियामकीय निकायका प्रतिवेदनका आधारमा मात्रै उद्योगी व्यवसायीलाई पक्राउ गरिनु चिन्ताजनक भएको निजी क्षेत्रको भनाइ छ । आर्थिक कसुरका विषयमा पहिले सुनुवाइ, त्यसपछि मात्र कारबाहीको सिद्धान्त अवलम्बन गर्न उनीहरूले सरकारलाई आग्रह गरेका छन् । अनुसन्धानमा सहयोग गर्न तयार हुँदाहुँदै पनि पक्राउ गरिनुले निजी क्षेत्र थप सशंकित बनेको निजी क्षेत्रको भनाइ छ । ‘उद्यमी व्यवसायीलाई यसरी धरपकड हुँदा व्यक्ति मात्रनभइ लाखौं रोजगारी, आपूर्ति श्रृखला, बैंकिग क्षेत्र र सम्पूर्ण प्रणालीमै गम्भीर धक्का पुग्न गै अर्थतन्त्र गम्भीर संकटमा पर्नेतर्फ हामी पुनः ध्यानाकर्षण गराउँदछौं’, विज्ञेप्तीमा भनिएको छ ।
सरकारले पछिल्लो समय नीति तथा कानुन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउने प्रयासलाई सकारात्मक रूपमा लिएको भए पनि, समानान्तर रूपमा भइरहेको धरपकडले विरोधाभास सिर्जना गरेको निजी क्षेत्रको भनाइ छ । निजी क्षेत्र संरक्षण तथा प्रवद्र्धन रणनीति मन्त्रिपरिषदबाट पारित भइसकेको सन्दर्भमा यस्ता गतिविधिले लगानीकर्तामा असुरक्षा बढाउने उनीहरूको दाबी छ । साथै, कसुर प्रमाणित भए दोषीलाई कारबाही गर्नुपर्नेमा कुनै असहमति नरहेको स्पष्ट पार्दै उनीहरूले संविधानले दिएको दोष प्रमाणित नभएसम्म निर्दोष मानिने सिद्धान्तको सम्मान गर्न सरकारलाई आग्रह गरेका छन् ।
विगत चार वर्षदेखि शिथिल बन्दै गएको अर्थतन्त्र नयाँ सरकारको व्यवसायमैत्री नीति र व्यवहारबाट गतिशील बन्ने अपेक्षा गरिएको भए पनि हालका घटनाक्रमले लगानी वृद्धि र लगानीकर्ताको आत्मविश्वासमा असर पर्न सक्ने निजी क्षेत्रको चेतावनी छ । निजी क्षेत्रले देशको समृद्धि उद्यमशीलता र लगानीको विस्तारबाट मात्रै सम्भव हुने भन्दै यसतर्फ गम्भीर हुन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।
स्पष्टीकरण प्रस्तुत गर्ने पर्याप्त अवसर दिनुपर्छ : नाइमा
काठमाडौ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले उद्योगपति तथा नाइमाका बोर्ड सदस्य शेखर गोल्छालाई आफ्नो पक्ष राख्ने पर्याप्त अवसरसमेत नदिई पक्राउ गरिएको जनाएको छ ।
नाइमाले विज्ञेप्ती जारी गरि यस्ता विषयमा अघि बढ्दा सम्बन्धित व्यक्तिलाई आफ्नो पक्ष राख्ने पर्याप्त अवसर दिनुपर्नेमा जोड दिएको छ । प्रक्रियागत स्पष्टता, सन्तुलन र विवेकपूर्ण निर्णयले मात्र समग्र प्रणालीप्रतिको विश्वास मजबुत हुने नाइमाको भनाइ छ । साथै, उद्योग–व्यवसाय क्षेत्रले अर्थतन्त्र, रोजगारी सिर्जना, राजस्व संकलन तथा आर्थिक गतिविधिमा पुर्याउँदै आएको योगदानलाई ध्यानमा राख्दै निजी क्षेत्रको मनोबल उच्च राख्ने वातावरण आवश्यक रहेको नाइमाले जनाएको छ । विधिको शासन, पारदर्शिता र निष्पक्ष अनुसन्धानप्रति आफ्नो प्रतिबद्धता रहेको जनाउँदै नाइमाले कुनै पनि कानुन उल्लङ्घनमा संलग्न व्यक्तिमाथि कारबाही हुनुपर्ने स्पष्ट पारेको छ । तर पर्याप्त प्रमाणबिना निष्कर्षमा पुग्ने वा कठोर कदम चाल्ने कार्यले प्रणालीप्रतिको विश्वास कमजोर बनाउन सक्ने भएकोले संवेदनशील भएर काम गर्न नाइमाले सरकारलाई आग्रह गरेको छ ।